निर्मलाबारे अर्यालले दाबी गरेका विषय सत्य देखिएनन्ः सीआईबी
काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणबारे नवराज अर्यालले अन्तर्वार्तामा दाबी गरेका विषय सत्य नदेखिएको प्रहरीले निष्कर्ष निकालेको छ ।
प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा निर्मला हत्या प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्दै अर्यालले गरेको दाबी र दिएको विवरणमा सत्यता नदेखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निष्कर्ष निकालेको हो । बरु अर्यालले संवेदनशील विषयमा भ्रम फैलाउन खोजेको प्रहरीको निष्कर्ष छ ।
सीआईबी स्रोतका अनुसार सोधपुछका क्रममा अर्यालले दिएको बयान र बताएको विवरण घटनास्थलसँग मेल खाएको छैन । उनले लिएका नामबारे पनि प्रहरीले पहिल्यै अनुसन्धान गरिसकेको सीआईबीले जनाएको छ ।
यतिसम्म कि अर्यालले अन्वर्तार्तामा आफू ९ महिनादेखि घर नगएको भन्दै बोलेको कुरा पनि झुठो भएको पाइएको छ । प्रहरीका अनुसार अर्याल अन्र्वार्ता दिएको अघिल्लो रात घरमै खाना खाएको र घरमै बसेको अर्यालकी श्रीमतीले बताएकी छिन् । नक्कली लाइसेन्स भएको खुलेपछि जागिरबाट निकालिएपछि श्रीमान् विक्षिप्त भएको अर्यालकी श्रीमतीले बताएकी छिन् ।
यता अर्यालसँग सनसनीपूर्ण अन्तर्वार्ता लिने कार्यक्रम प्रस्तोता ऋषि धमलाले पनि अन्तर्वार्तामा अर्यालले बोलेको कुरा झुठो भएको प्रहरी अनुसन्धानबाट खुलेको र त्यसबारे छलफल गरिरहेको बताएका छन् ।
Source : https://arthasarokar.com/2024/11/aryals-claims-about-nirmala-did-not-appear-to-be-true-cib.html