बोक्सी नहुने बुझाउन अग्निदहन
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास अग्नीदहनमा आधारित रहेर तयार पारिएको फिल्म अग्निदहनका निर्देशक घनश्याम लामिछानेले यो फिल्म व्यावसायिक हिसाबले नबनाएको बताए।
‘मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरेका हौँ’, फिल्मबारे जानकारी दिन हालै राजधानीमा आयोजित पत्रकार भेटघाटम उनले भने। फिल्मका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन यो उपन्यासमाथि फिल्म बनाएको बताए।
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले फिल्म बनाएका हौँ। बोक्सीका नाममा अझै पनि महिलामाथि अत्याचार भइरहेका घटना बेला बेलामा सार्वजनिक भइरहन्छन्। हामी फिल्ममार्फत बोक्सी हुँदैन र महिलालाई बोक्सीका नाममा अत्याचार गरिनुहुन्न भन्ने सन्देश दिन चाहन्छौँ’, उनको भनाई छ।
कलाकार प्रमिला तुलाचनले आफूले बोक्सीको आरोप लागेकी माइली दमिनीको चरित्र निर्वाह गरेको जानकारी दिँदै त्यो चरित्र अध्ययन गर्न सुकुम्बासी बस्ती पुगेको बताइन्। ‘समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुव्र्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरेकी छु’, उनले भनिन्। अर्की कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामीझाक्रीले दिने यातना साँच्चै असह्य हुने गरेको बताइन्।
‘फिल्ममा मलाई धामीले फलाम डामेको दृश्य छ। त्यो दृश्यको सुटिङ गरेको भोलिपल्टसम्म मेरो शरीरमा घाउ थियो। बोक्सीको आरोप लागेका महिलालाई साँच्चै धामीले त्यसरी डाम्दा उनीहरुलाई झन कति पिडा भयो होला?’ उनले भनिन्।
प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङलगायतका कलाकारले अभिनय गरेको फिल्ममा लोकमणी पौडेलको कथा, पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ। चलचित्र विकास बोर्डले विशेष फिल्म अवार्ड दिएको फिल्म भोलि शुक्रवारबाट रिलीजमा आउँदैछ।