राष्ट्र बैंकका तत्कालीन निर्देशक आचार्यले महिला हिंशा गरेको अदालतको ठहर, बर्खास्ती भने बदर !

काठमाडौँ । महिला हिंशा गरेको आरोपमा बर्खास्तीमा परेका नेपाल राष्ट्र बैंकका तत्कालीन निर्देशक थानेश्वर आचार्यले सो हिंशा गरेको ठहर अदालतले गरेको छ । प्रशासकीय अदालतका अध्यक्ष डिल्लीराज घिमिरे तथा सदस्यहरु रिता मैनाली र कृष्णप्रसाद पौडेलको इजलासले कार्तिक २७ गते यस्तो ठहर गरेको हो ।

राष्ट्र बैंकका एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा आचार्यलाई राष्ट्र बैंकले बर्खास्त गरेको थियो । आफु माथि भएको भएको कारवाहीको विरुद्धमा संचालक समितिमा निवेदन दिएका आचार्यलाई संचालक समितिले पनि कारवाहीको निर्णय सदर गरी बर्खास्त गरेको थियो । त्यसपछि उनी गत असार २ गते प्रशासकीय अदालतमा निवेदन लिएर पुगेका थिए ।

‘पदीय आचारण अनुशासन अनुकुलको कार्य नभइ सम्बद्ध सेवा कानुन बमोजिम विभागीय सजाय पाउन योग्य आचारण होइन भनि भन्न मिलेन,’ राय कितावमा उल्लेख गर्दै उनलाई दोषी करार गरिएको छ। यद्यपी अदालतको ठहरको पूर्ण पाठ भने आउन बाँकी छ ।

यद्यपी उनलाई गरिएको कारवाही भने प्रक्रिया नपुर्याई गरिएको ठहर अदालतको छ । अर्थात, उनलाई गरिएको बर्खास्तीको प्रक्रिया नपुर्याई गरिएको भन्दै सो बर्खास्ती अदालतले बदर गरिदिएको छ । अदालतको यो निर्णयसँगै अव उनी पुनस् राष्ट्र बैंकको जागिरमा फर्कनेछन् । त्यसपछि राष्ट्र बैंकले पुन: प्रक्रिया पुर्याएर उनलाई बर्खास्त गर्न सक्नेछ, वा यो केस गुपचुप राखी राष्ट्र बैंकले उनलाई जोगाउन पनि सक्नेछ ।

यद्यपी यहि केसमा महिला आयोगले डेपुटी गभर्नरसहित राष्ट्र बैंकका दुई हाकिमलाई समेत दोषी देखाएकाले उनीहरुलाई जोगाउनका लागि राष्ट्र बैंकले आचार्यलाईसमेत जोगाउन सक्ने सम्भावना छ ।

राष्ट्र बैंकले गत पुष २७ गते नगरकोटको होटल माउन्टेन मिस्टिकमा राखेको एक कार्यक्रममा आचार्यले बैंककि एक सिनियर कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो । त्यसपछि राष्ट्र बैंकले यस विषयमा छानविन गरी आचार्यलाई दोषी देखाएर बर्खास्त गरेको थियो ।

Source : https://arthasarokar.com/2024/11/acharya-the-then-director-of-rashtra-bank-was-found-guilty-of-violence-against-women-by-the-court-and-his-dismissal-is-null-and-void.html



Related Posts