स्वास्थ्य मन्त्री पौडेल इन्डोनेशियाको बाली जाने

काठमाडौं ।


 स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल मंसिरको तेस्रो साता इन्डोनेशियाको बाली जाने भएका छन् ।

विहीबारको मन्त्रिपरिषद् बैठकले सरकारलाई थप आर्थिक व्यहभार नपर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई मंसिरको तेस्रो साता इन्डोनेशियाको बालीमा हुने बैठकमा भाग लिन जान स्वीकृती दिएको छ ।

यहि मंसिर १९ र २० गते बालीमा हुने गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इम्युनाइजेसन) को डिसेम्बर २०२४ बोर्ड बैठकमा सहभागी हुन स्वास्थ्य मन्त्री पौडेल गाभिकै खर्चमा जादैछन् ।

मन्त्री परिषद बैठकले सो बैठकमा सहभागी हुनका लागि स्वास्थ्य मन्त्री पौडेललाई स्विकृत प्रदान गरिसकेको छ । गाभी नेपालको खोप कार्यक्रममा सबैभन्दा ठूलो सहयोगी संस्था हो ।


सन् २०१४ – ०१५ तिर तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारी नेपालका तर्फबाट गाभी बोर्डमा सदस्य थिए ।त्यसपछि आएका स्वास्थ्य मन्त्री गगन थापाले वोर्डमा रहेका अधिकारीलाई हटाएर अर्को व्यक्तिलाई नियुक्तीका लागि सिफारिस गरेपनि सफल हुन सकेनन् ।


पछिल्लो पटक तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले पनि गाभीको बोर्डमा नेपालका तर्फबाट अर्का एक व्यक्तिको नाम सदस्यका लागि सिफारिस गरेका थिए । तर त्यो पनि सफल हुन सकेको थिएन । यसपटक मन्त्री पौडेललाई गाभीले सम्पूर्ण खर्च व्यवहोर्ने गरी निमन्त्रणा गरेको छ । उहाँको सहभागिताले खोपका क्षेत्रमा थप सहयोग हुने अपेक्षा गरिएको छ । नेपालमा बालबालिकाका लागि लगाईने जति पनि खोप छन ती सबै दातृ निकायको सहयोगमा प्राप्त हुने गरेको छ ।

Source : https://newsofnepal.com/2024/11/23/679655/