कुखुराको भाले बिहान किन बास्छ ?

कुखुराको भाले बिहानको पहिलो प्रहरमा किन बास्छ। यो आममानिसको कौतूहलताको विषय हुन सक्छ। खासगरी लोकल कुखुरा हरेक नेपालीको घरमा पाल्ने गरिएको छ। यसलाई पहिलेपहिले घरको शोभा बढाउन, समय बताउन र मासु प्रयोजनका लागि पाल्ने गरेको पाइन्थ्यो।


प्रविधिको विकाससँगै अहिले हरेक मानिसको हातमा घडी वा मोबाइल फोनमा घडी हुने भएकाले मानिसले त्यसलाई प्रयोगमा ल्याएपछि परम्परागत रूपमा समय मापन गर्ने यन्त्र तथा चराचुरुङ्गीले बताइदिने समयको अहिले आएर मानिसले खासै वास्ता गर्ने गरेको पाइँदैन।


अहिले कुखुराको भाले बास्दा मानिसलाई झर्को र झन्झट लाग्न थालेको छ। जुनबेला घडी तथा समय बताउने प्रविधिको विकास भएको थिएन।त्यसबेला समय सूचकको रूपमा कुखुराको भालेलाई लिने गरेको पाइन्छ। कुखुरा बासेको संगीत पनि रमाइलो र प्रिय हुन्छ। सायद यही कारणले होला कुखुराको भाले हेर्दा पनि सुन्दर देखिन्छ।


भाले अर्थात् कुखुरामा जन्मजात गुण हुन्छ। त्यसको मस्तिष्कमा एउटा तत्व हुन्छ जसको विकासले भाले वयस्क भएपछि समयसमय अर्थात् बिहान र दिउँसो बास्ने गर्दछ। तर, जब राति हुन्छ भाले बास्दैन। यदि भाले राति बास्यो भने अहिले पनि त्यसलाई अशुभ संकेतको रूपमा लिने गरिएको छ।


भाले होस् या कुनै पनि पंक्षी तथा जनावरले समयको प्रहर थाहा पाउँछन्। घाम लागेको दिन होस् वा बादलले ढाकेको दिन किन नहोस् उनीहरूले अहिले कति समय भयो भन्ने कुरा सहजै थाहा पाउने दबाब वैज्ञानिकहरूले गरेका छन्।


वास्तवमा, कुखुराको भालेमा जैविक घडी हुन्छ जसलाई सिर्केडियन रिदम भनिन्छ। यो घडीले उनीहरूको शरीरलाई २४ घण्टा चक्रमा काम गर्न बताउँछ। सूर्योदयमा प्रकाश परिवर्तन हुँदा, यो घडी सक्रिय हुन्छ र भालेलाई बास्ने संकेत गर्दछ।
कुखुराको आँखा प्रकाशका लागि धेरै संवेदनशील हुन्छन्। कुखुराको आँखाले सूर्य उदाउनेबित्तिकै प्रकाशमा परिवर्तन पत्ता लगाउन सक्छ र यसले तिनीहरूको मस्तिष्कमा बास्ने संकेत पठाउने दाबी वैज्ञानिकहरूले गरेका छन्।


यसबाहेक बिहान सबेरै भाले बास्नु कुखुराको सामाजिक व्यवहार भएको बताइन्छ। भालेहरूले आफ्नो क्षेत्रमा उपस्थित अन्य भालेलाई सचेत गराउन पनि बास्ने गरेको पाइएको छ। बिहान उज्यालो भएको उनीहरूले थाहा पाउँछन् र संकेत दिन्छन्। त्यही संकेतस्वरूप भाले बिहानै बास्ने गर्दछ। तर, दुर्भाग्यवस आजभोलिको प्रविधिले गर्दा जनावरमा भएको प्राकृतिक चेतना पनि बिस्तारै हराउँदै गएको छ।


भाले बास्नु प्राकृतिक संसारको जीवन चक्रको एक विशेष भाग भएको मानिन्छ। यसले दिन र रातको चक्रलाई प्रतिविम्बित गर्ने गरेको छ। जनावरको व्यवहारलाई पनि प्रभाव पार्छ। उनीहरूसँग हुने इन्द्रियले काम गर्न छोडेको छ। कुखुरा राति बास्नुको कारण पनि त्यही मानिन्छ। तर, पुरातन सोच भने राति भाले बास्यो भने कुनै संकट भित्रिने भन्दै राति बास्ने भालेलाई काटेर खाने गरिएको पाइन्छ।

हामीले यसलाई प्राकृतिक प्रभाव र आधुनिक असर मान्न सकिन्छ। तर कुनैबेला कुनै गलत समयमा कुखुरा बास्यो भने कुखुराको स्वास्थ्य स्थिति ठीक छैन भन्ने बुझ्नु आवश्यक हुन्छ।
(स्रोत ः विभिन्न पत्रपत्रिका तथा अनलाइन)

Source : https://newsofnepal.com/2024/11/23/679666/