दिगो नीति बनाउन सम्मेलन पूरक बनोस्
नेपाल चिकित्सक संघको आयोजनामा यही मंसिर २८ र २९ गते काठमाडौँमा चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन हुँदै छ । ‘हेल्थ वियोन्ड हेल्थ’ भन्ने मूल नाराका साथ सम्पन्न हुने यस सम्मेलनमा उठ्ने विषय समयसापेक्ष र युवालक्षित एवं जीवनोपयोगी बनोस् ।
नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अझै पनि चुनौतीपूर्ण रहेको अवस्थामा समग्र जनस्वास्थ्य र सामाजिक कल्याणमा हुने र हुन सक्ने नकारात्मक प्रभाव हटोस् । स्वास्थ्य समस्याको समाधान र सेवा विस्तारमा मात्र सीमित नभई स्वास्थ्य परिणामलाई समेत प्रभाव पार्ने सामाजिक, वातावरणीय र आर्थिक पक्षहरुलाई पनि समेट्ने गरी व्यापक दृष्टिकोण बनोस् ।
यसै गरी नेपालका स्वास्थ्य संस्थामा बिरामीको उपचारका क्रममा मृत्यु भएका र मृत्युपश्चात् आफन्तले अस्पताल तथा चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, कर्मचारीहरुमाथि हातपात गर्ने, धम्की दिने र क्षतिपूर्तिका नाममा आर्थिक लाभ लिन खोज्ने प्रथाको अन्त्य गर्न सम्मेलनले सरकारलाई सुझाव दिन सकोस् ।
सम्मेलनले निकालेको निष्कर्ष कार्यान्वयनमा ल्याउनेतर्फ सबै पक्ष जवाफदेही बनून् । यस्ता गम्भीर विषयमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायले समयमै ध्यान देओस् । यस्तै स्वास्थ्य र महामारीका लागि पूर्वतयारी, चिकित्सा शिक्षा सुधार र नवप्रवर्तन, जनचेतना र उत्तरदायी पत्रकारिता, संक्रामक रोग, व्यावसायिक र वातावरणीय स्वास्थ्यमा पानी, सरसफाइ र पोषणको प्रभावजस्ता विषयमा समेत ध्यान देओस् ।
देशमा विगतको बाढीपहिरोले कतिका घरबास उजाड भएका छन् भने कतिको मानसिक स्वास्थ्य समस्या बढेको छ । गाँस, बास, कपासको अभावमा चिसो याममा खुल्ला आकाशमुनि बास भएको छ । शुद्ध पिउने पानीको अभावले झाडापखाला, आउँ, भाइरल ज्वरो, रुघाखोकीजस्ता समस्या निम्तिएका छन् ।
अन्य सरुवा रोगका साथ जंगली जनावरको टोकाइलगायतका समस्याका कारण बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकले सरकारको साथ र सहयोगको अपेक्षा गरेका छन् । सरकार र नेताहरु भने पिउने पानी, गाँस, बासमा राजनीति गर्दै आएको अवस्था छ । विश्व स्वास्थ्य संगठनले धुलिखेल नगर स्वास्थ्यका हिसाबले उत्कृष्ट ठह¥याई पुरस्कार वितरण गरेको क्षेत्र हो ।
तर यो नगरको मुख्य कार्यालयवरिपरि बसोबास गर्ने नागरिकलाई पिउने पानी वितरणमा समेत विभेद गरिएको अवस्था छ । पनौती नगरपालिका–१२ बाट जर्मन सरकारको सहयोगमा धुलिखेलमा ल्याइएको पानी असोज १२ को बाढीका कारण मुहानमा क्षति पुगेसँगै धुलिखेलमा पिउने पानी वितरणमा विभेद भएको छ ।
यसबाट जनस्वास्थ्यमा ठूलो समस्या आएको छ । यो एउटा उदाहरण मात्र हो । काभ्रेको रोशी गाउँपालिकाका कतिपय स्थान, मण्डन देउपुर नगरपालिका, भुमेडाँडा, पनौतीलगायतका थुप्रै स्थानमा पिउने पानीको अभाव भइरहेको छ । यस विषयमा तीनै तहको सरकार र नेताहरुको ध्यान पुग्नु जरुरी छ । प्राकृतिक स्रोतको सही सदुपयोग गरियोस् । प्राकृतिक स्रोतमाथि कुनै पनि राजनीतिक दलका नेताहरुले धावा बोल्नु देश र नागरिकका लागि न्यायोचित हुन्न ।
नेपाल चिकित्सक संघले पनि देशव्यापीरुपमा हुने स्वास्थ्य समस्याको मूल जरो पिउने पानी हो भन्ने विषयलाई सम्मेलनको मूल एजेन्डाका रुपमा उठान गरी नेता, सरकार, राजनीतिक दल, नागरिकको आँखा खोल्न सकोस् । सम्मेलनको सफलताको शुभकामना !