बैंकिङ कसूर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ

काठमाडौं।

बैंकिङ कसूर मुद्दाका फरार ३ जना प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी बेनी नगरपालिका-९ ठेगाना भएकी ३९ वर्षीया बिष्णुमाया केसी, काठमाडौं महानगरपालिका-१५ ठेगाना भएका ५६ वर्षीय बालकृष्ण महर्जन र भक्तपुर, भक्तपुर नगरपालिका-७ बस्ने ५२ वर्षीय राजेन्द्र तुई तुई रहेका छन् । 

पक्राउ मध्ये विष्णुमायाले पीडितलाई १ करोड ५० लाख रूपैयाँ बराबरको चेक दिई खातामा पर्याप्त रकम मौज्दात नभई वाउन्स भई काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमती प्राप्त भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय बौद्धबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । उनलाई आवश्‍यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ ।

यसैगरी बालकृष्ण महर्जन भएको बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०८० जेठ २९ गतेको फैसलाले ५ दिन कैद, बिगो १६ लाख रूपैयाँ जरीवाना र ६४ हजार रूपैयाँ क्षतिपुर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने ठहर भई फरार रहेका महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भुबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत लगनखेलमा पठाइएको छ ।

यसैगरी जिल्ला अदालत काठमाडौं बबरमहलबाट बैंकिङ कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका राजेन्द्र तुई तुईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-७ बाट पक्राउ गरेको  हो । उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ ।

Source : https://newsofnepal.com/2024/11/21/679296/