विश्व शान्तिका लागि बौद्ध दर्शन सेतु बन्न पुगेको छ–उपाध्यक्ष घिमिरे 

काठमाडौँ। 

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बन्न सक्ने धारणा राखेकी छन् । 

धम्म स्टडि एण्ड सर्पोट फाउण्डेसनले काठमाण्डौमा शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले भगवान् गौतम बुद्धले अङ्गीकार गरेको विश्व शान्तिको मान्यता विश्वमा पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बन्न पुगेको धारणा राखेकी हुन् । 

‘विश्वको एक पवित्र भूमि मध्ये बुद्धको जन्मभूमि नेपाल रहँदै आएको तथ्य सर्व विदितै छ।’, उनले भनिन् ‘बुद्धले तय गरेका अष्ठमार्गको आधारमा हाम्रो समाजको विकासक्रम अघि बढिरहेको छ भने बुद्धले पहिल्याउनु भएको ४ आर्य सत्यलाई पछ्याउन सकियो भने संसारबाट दुःख निवारण हुन्थ्यो होला। जो आज पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बनेको छ ।’

उपाध्यक्ष घिमिरेले कार्यक्रमले धर्मका वास्तविक पक्ष, यसको व्यावहारिक पक्ष, र समाजमा यसको प्रभावबारे बहस र संवाद गर्न महत्त्वपूर्ण भूमिका  खेल्ने बिश्वास ब्यक्त गर्दै धर्मका माध्यमबाट प्राप्त शिक्षाले मानिसलाई आन्तरिक शान्ति मात्र नभई समाजमा शान्ति र स्थिरता कायम गर्न मार्गदर्शन गर्नमा ठूलो योगदान पु¥याउँछ भनिन्  । उनले मानवजातीमा बढ्दै गएको अंहकारबाट छुटकारा दिलाउँदै शान्त र सौम्य मानव समाजको दिगो आवश्यकताको मार्ग कोर्न समेत भूमिका खेल्ने धारणा राखिन् ।  

भगवान् बुद्धको अभिधर्म शिक्षाले सही दृष्टिकोण, सही विचार, सही कर्म, र सही आचरणलाई जीवनमा अवलम्बन गर्न प्रेरित गरेको पाइने र बौद्ध दर्शनबाट मिल्ने  शिक्षालाई सही रूपमा आत्मसात् गर्न सकेमा हाम्रो जीवनमा शुद्धता र समाजमा सकारात्मक परिवर्तन सम्भव भएको धारणा पनि उपाध्यक्ष घिमिरेको थियो । 

कार्यक्रममा अभिधर्मका प्रकाण्ड विद्वान ९८ वर्षीया आचार्य सूची र भन्ते सुमनले प्रवचन दिएका थिए । 

Source : https://newsofnepal.com/2024/11/23/679602/