उदयपुरमा छठ पर्व भव्य 

उदयपुर । 

उदयपुरको गाईघाट, कटारी, बेल्टार र रामपुर क्षेत्रमा छठ पर्व भव्य रुपले मनाइएको छ ।

कार्तिक शुल्क षष्ठी तिथीको साँझ अस्ताउँदो सूर्यलाई र भोलिपल्ट सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ सहित पूजा अर्चना गरेर आफूले चिताएको मनोकामना पूर्ण होस भनेर गरिने छठको ब्रत गर्नेहरु विगतको तुलनामा यस वर्ष बढि भएको गाईघाट स्थित छठ पूजा समितिका शम्भु साहले बताए । 

किम्बदन्ती अनुसार परापूर्व कालमा पाँच पाण्डव र कौरवहरु विच युद्ध हुँदा पाच पाण्डव दाजुभाइहरु विरामी परेकोमा आफ्ना गुरुलाई उपचारका बारेमा जिज्ञासा राख्दा गुरुले कार्तिक शुल्क षष्ठी को अस्ताउँदो सूर्य र सप्तमीको उदाउँदो सूर्यको पूजा अर्चना शुद्ध मनले चोखो नितो गरेर गर्ने र चैत्र शुल्क षष्ठीमा पनि अस्ताउँदो सूर्यलाई र सप्तमीमा बिहान उदाउँदो सूर्यलाई आफ्नो चिताएको मनोकामना पुरा होस भनेर पूजा अर्चना गर्नु भनेकोले पाँच पाण्डवहरुले सोही मुताबिक पूजा आजा गरेकोले रोग व्याधबाट मुक्त भएको भन्ने किम्बदन्ती गाउँ घरमा सुन्न पाइन्छ । 

उदयपुरको गाईघाटमा त्रियुगा नदी किनारामा, कटारीको तावा नदी किनारामा, बेल्टारमा द्वार खोला रामपुरमा गिदेरी खोला, सेती खोला लगायतका खोलामा भेला भएर छठी माताको पूजा गरेको छन्।

छठ घाटमा रातभरी जाग्राम बसेर रमाइलो गर्ने नाच गान तथा अन्य रमाइला खेलहरु खेलेर रात कटाउने र बिहान स्नान सहित सूर्य भगवानलाई अर्घ चढाउँदै पूजा आजा गरेर घर फर्केर व्रतालुले प्रसाद खाने र अरुलाई पनि प्रसाद वितरण गर्ने गरिन्छ  र ब्रत समाप्त हुने गर्दछ ।

Source : https://newsofnepal.com/2024/11/07/677005/