कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्नमा प्रतिबन्ध

धनगढी– कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । कैलाली जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तिहारको समयमा कानून विपरीतका अवाच्छित गतिविधि हुनसक्ने भन्दै देउसी, भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने जनाएको हो।

आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति नै प्रभावित हुनेगरी कानून विपरितका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले १० बजेपछि मनोरञ्नजनात्मक कार्य गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जारी गरेको सूचनामा पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउन र ओसार पासार समेत नगर्न आग्रह गरिएको छ । प्रशासनले तोकेको समय भन्दा बढी देउसी भैलो खेलेको तथा अन्य गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

दिपावलीमा दियो, मैनवत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरू बालेर दिपावली मनाउँदा आगजनी जस्ता विपद्का घटना हुनसक्ने भएकोले सचेत हुन समेत अनुरोध गरेको छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/185546/