तनावपूर्ण खेलमा नेपालद्वारा भारत पराजीत
काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल २०२४ को उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न तनावपूर्ण दोस्रो सेमिफाइनल खेलमा संघर्षका साथ १० खेलाडीमा सीमित नेपालले भारतलाई हराउँदै फाइनलमा पुनः एकपटक बंगलादेशसँगको भेट पक्का गरेको हो । फाइनल खेल आगामी बुधबार साँझ हुनेछ ।
उपाधिका लागि बंगलादेशसँग खेल्ने
सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ ले हराएको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । नेपालका लागि सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिशा कार्कीले गोल गरे भने भारतकी मनीषा कल्याण र पुरुषेत्तम श्रीभोइकरको मात्र गोल हुनसक्यो । आशालता देवीले प्रहार गरेको बल पोस्टमा लागेर फर्कियो भने छानुको प्रहारलाई गोलकिपर अञ्जना रानामगरले रोकिदिइन् ।
निर्धारित समयमा भारतकी संगीता बासफोरेले १ तथा नेपालकी साबित्रा भण्डारी (साम्बा)ले १ गोल गरेका थिए । खेलमा निर्धारित ९० मिनेट हुने भए पनि विवाद उत्पन्न भएपछि निकै लामो बेर खेल रोकिएको थियो ।
खेलको ५१औं मिनेटमा रेखा पौडेल दोहोरो पहेंलो कार्डसहित रेड कार्ड खाएर मैदानबाहिर गएपछि उत्पन्न विवादका कारण करिब १२ मिनेटजति रेफ्रीले खेल नै रोकेका थिए । पहेंलो कार्ड खानै नपर्ने बेलामा रेफ्रीले रेखालाई पहेंलो कार्ड दिएका थिए । ७ गोल गरेर प्रतियोगिताको सर्वाधिक गोलकर्ताको होडमा रहेकी रेखाको सपना अधुरै बनेको छ । उनले रातो कार्ड पाएपछि नेपाली दर्शकले केहीबेर नाराबाजी गर्नुका साथै मैदानमा पानीका बोतलसमेत फालेका थिए । दर्शकहरूले रेफ्री आउट भनेर नारा लगाएका थिए ।
मैदानको छेउमा तैनाथ भएका सुरक्षाकर्मीसँगै नेपाली खेलाडीले समेत दर्शकलाई शान्त रहन आग्रह भनेका थिए । खेल फेरि ६४औं मिनेटबाट सुरु भएको थियो । खेलको ७१औं मिनेटमा १० खेलाडीमा सीमित नेपाललाई भारतले पहिलो गोल ग¥यो ।
भारतकी संगीता बासफोरेले डी बक्सबाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भयो । लगत्तै नेपालले गोल फर्काए पनि त्यसलाई रेफ्रीले मान्यता नदिएपछि खेलमा पुनः विवाद सुरु भयो । भारतीय खेलाडीले गोलको खुसियाली मनाउँदैगर्दा रेफ्रीले प्ले अनको सिठी बजाएपछि नेपालले बल अगाडि बढाउँदै बराबरी गोल फर्काएको थियो । प्रीति राईको गोललाई रेफ्रीले मान्यता नदिएपछि विवादको स्थिति सिर्जना भएको थियो ।
रेफ्रीको सो निर्णयमा असहमति जनाउँदै नेपाली दर्शकले नाराबाजीसहित बोलत प्रहार गरेपछि खेल पुनः रोकियो । करिब ६८ मिनेट रोकिएर सुरु भएको खेल १० मिनेट घटाइएको थियो ।
त्यसपछि सुरु भएको खेलमा नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् । उनले प्रीति राईको लामो पासलाई मूर्त रूप दिएकी थिइन् । गोल हुने बित्तिकै खुसीले आफ्नो जर्सी नै फुकालेपछि भण्डारीले पहेंलो कार्ड पाइन् ।
अघिल्लो संस्करणमा पनि फाइनलमा नेपाल र बंगलादेश नै भिडेका थिए । त्यतिबेला नेपालले बंगलादेशसँग ३–१ ले हार बेहोरेको थियो ।
२ वर्षअघि यही मैदानमा नेपालले भारतलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो । पहिलो संस्करणदेखि पाँचौं संस्करणसम्म लगातार विजेता बन्दै आएको भारतलाई अघिल्लो संस्करणमा जस्तै यस संस्करणमा पनि नेपालले सेमिफाइनलमै रोक्न सफल भएको छ ।
एकपटक सेमिफाइनलसम्म र पाँचपटक उपविजेता बनेको नेपालसामु फेरि अर्कोपटक उपाधि जित्ने अवसर सिर्जना भएको छ ।
नेपाल पाँचपटक उपविजेता बन्दा भारत चारपटक र बंगलादेश एकपटक विजेता बनेका छन् । खेलमा पहिलो हाफमा पनि नेपालमाथि भारतले एकपछि अर्को आक्रमण बुनेको थियो । त्यसबीचमा नेपालले पनि केही अवसर खेर फाल्यो ।
आइतबारको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोलअन्तरले हराउँदै बंगलादेश फाइनलमा पुगेको हो । बंगलादेशका लागि तहुरा खातुनले ३ गोल तथा सबिना खातुनले २ गोल गरिन् । अन्य गोल रितु चक्मा र मसुरा प्रविनले गरिन् । भुटानका लागि सान्त्वना गोल डेकी लाजोनले गरिन् ।
भुटान अघिल्लो संस्करणमा पनि बंगलादेशसँग नै पराजित भएको थियो । भुटान समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने बंगलादेश समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
The post तनावपूर्ण खेलमा नेपालद्वारा भारत पराजीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/102844/