तेल भिसाः बुहारी स्याहार्न अमेरिका पुगेकी सासुको संघर्षको कथा

काठमाडौं– अभिनेता विपिन कार्की दोहोरो भूमिकामा रहेको फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ । नायिका पूजा चन्द र ऋचा घिमिरेले अभिनयमा कमब्याक गरेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो । ३ मिनेट ३६ सेकेन्ड लामो उक्त ट्रेलरमा सुत्केरी बुहारी स्याहार्न नेपालदेखि अमेरिका पुगेकी सासूको कथा प्रस्तुत गरिएको छ ।

फिल्ममा विपिन कार्की नेपालमा भएका ‘बुबा’ र अमेरिकामा रहेका छोराको दोहोरो भूमिकामा देखिएका छन् । विपिनकी आमाको भूमिकामा नायिका पूजा चन्द देखिएकी छिन् । सार्वजनिक ट्रेलरअनुसार
बुहारी (वर्षा राउत) गर्भवती भएपछि उनको स्याहार गर्न पूजा चन्द अमेरिका पुग्छिन् । तर त्यहाँ उनले अध्यागमनको झमेला व्यहोर्नुपर्छ ।

अध्यागमन अदालतले उनलाई जेलमा पठाउँछ । त्यहाँ उनले लड्ने कानुनी लडाइँ र यसैको सेरोफेरोमा फिल्मको ट्रेलर घुमेको छ । यस फिल्ममा ऋचा घिमिरे कानुन व्यवसायीको भूमिकामा देखिएकी छिन् ।

यस फिल्मलाई ऋचाका श्रीमान शंकर घिमिरेले निर्देशन गरेका हुन् ।

फिल्ममा बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती र अनिल पाण्डेको समेत अभिनय रहेको छ । अमेरिकाको मेरिल्याड र नेपालका विभिन्न भूभागमा फिल्म खिचिएको फिल्मलाई वेलडन क्रिएसनले फिल्म निर्माण गरेको हो । यस फिल्मको निर्माताका रुपमा अनिल पाण्डे र शिवराज कार्की रहेका छन् । फिल्म मंसीर ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Source : https://onlinetvnepal.com/2024/11/185740/