देवहरिया वनस्पति उद्यानलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिँदै
धनगढी । कैलालीको धनगढीस्थित देवहरिया वनस्पति उद्यानको विकास गुरुयोजना अनुसार गरिने भएको छ । संघीय सरकार मातहतको वनस्पति अनुसन्धान केन्द्र धनगढीले उद्यान विकासको गुरुयोजना बनाउन लागेको हो ।
उद्यानमा वनस्पति अनुसन्धान, संरक्षण तथा विकास एवं जडिबुटी विकास कार्यक्रम सञ्चालनमा छन् । १४९ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानलाई पर्यापर्यटन र शैक्षिक गन्तव्य बनाउने योजना छ ।
धनगढी उपमहानगरपालिका कार्यालयदेखि करिब ३ किलोमिटर टाढा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको देवहरिया वनस्पति उद्यान विकास गर्न १० वर्षीय गुरुयोजना बन्न लागेको हो । १२ दशमदव ५५ हेक्टरमा फैलिएको जाखोर तालसहित उद्यानको विकास गर्न गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।
जैविक विविधता र सिमसार क्षेत्रसमेत रहेको देवहरिया वनस्पति उद्यानलाई शैक्षिक एवं अनुसन्धान केन्द्रको रुपमा विकास गर्न गुरुयोजना बनाइन लागेको वनस्पति अनुसन्धान केन्द्र धनगढीका प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत गंगादत्त भट्टले बताए । उनले उद्यानलाई शैक्षिक केन्द्र तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न गुरुयोजना बन्न लागेको बताए । ‘उद्यानलाई शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न र पर्यापर्यटनको प्रमुख गन्तव्यको रुपमा विकास गर्न दस वर्षीय गुरुयोजन बन्न लागेको हो,’ उनले भने, ’गुरुयोजना अन्तिम चरणमा पुगेको छ । गुरुयोजनामा हाल भइरहेका कामका अतिरिक्त थप काम र अनुसन्धानसमेत गरिनेछ ।’
पर्याप्त खुला ठाउँ र ताल क्षेत्रसमेत रहेको देवहरियामा वनस्पति उद्यान व्यवस्थापन तथा सौन्दर्यकरणका लागि मौसमी र बहुवर्षीय शोभनीय फूलका बिरुवा उत्पादन गरिन्छन् । उद्यान भित्र थिमेटिक गार्डेनहरू बनाइएका छन् । थिमेटिक गार्डेनमा जडिबुटी बाटिका, जर्मप्लाज्म बाटिका, चुरे बाटिका, जलीय बाटिका, साइटिस बाटिका, फोहोरा बाटिका, शान्ति बाटिका, विश्राम बाटिका, हेज बाटिका व्यवस्थापन गरिएको छ ।
यस्तै, अलंकारिक बाटिका, ट्याक्सेनोमिक बाटिका, इथ्नो बोटानिकल बाटिका, गुलाव बाटिका, ढुंगे बाटिका, बगम्बेली बाटिका तथा क्याक्टस बाटिका रहेका छन् । बन्न लागेको गुरुयोजनामा वनस्पति उद्यानलाई मुलुककै उत्कृष्ट उद्यानको रुपमा विकास गरिने वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले बताए । देवरिया उद्यानलाई मुलुककै उत्कृष्ट उद्यानका रुपमा विकास गर्न अध्ययन अनुसन्धान र संरक्षण सम्बन्धि कार्यहरूलाई बढावा दिने उद्येश्य राखिएको छ,’ उनले भने, ’मनोरञ्जनात्मक क्रियाकलापका साथै पर्यापर्यटनमा टेवा पुग्ने कार्यक्रमहरू मास्टर प्लानमा समेटेका छौँ । यसलाई विश्वकै नमुना र उत्कृष्ट उद्यान बजाउन सकिन्छ ।’
के के निर्माण हुन्छन् पार्कमा ?
गुरुयोजना अनुसार वनस्पति उद्यानमा नभएका वनस्पतिको संकलन तथा संरक्षण गरिने भएको छ । जसका लागि जिन बैंक स्थापान हुने भएको छ । उद्यानमा संकटापूर्ण प्रजातिको स्व–स्थानीय संरक्षण गरिनुका साथै गुणस्तर विकासको लागि खेती प्रविधिमा अनुसन्धानसमेत हुने भएको छ । उद्यानले भेराइटी विकास कार्यक्रम, पकेट क्षेत्र प्रवद्र्धधन कार्यक्रम, जटिबुटी खेती सम्बन्धी तालिम, प्रयोगशाला सेवा सञ्चालन तथा विद्यालयहरूमा जडिबुटी सम्बन्धी सचेतना कार्यक्रम चलाउने छ ।
गुरुयोजनामा अतिरिक्त थिमेटिक गार्डेन व्यवस्थापन र विकास गरिने छ भने म्युजियम, खुल्ला थिएटर, चरा अवलोकन, मनोरञ्जन बगैंचा, बाल उद्यान, विद्युतीय रिक्सा मार्ग जस्ता ३० वटा संरचना निर्माण गरिने छन् । गुरुयोजना अनुसार सबै काम गर्न सके देवहरिया वनस्पति उद्यान पर्यापर्यटनको उत्कृष्ट गन्तव्य बन्ने वनस्पति अनुसन्धान केन्द्र धनगढीका वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले बताए ।
देवहरिया वनस्पति उद्यानलाई जडिबुटीका गुणस्तरीय बिरुवा उत्पादन र वितरण गर्दै आएको छ भने गुरुयोजना अनुसार विकास गरेर विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई वानस्पतिक स्रोतको अध्ययन गर्ने केन्द्रको रुपमा स्थापित गर्ने उद्येश्य राखिएको छ ।
The post देवहरिया वनस्पति उद्यानलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101690/