पक्राउ परेका दुर्गा प्रसाईंमाथि के होला अनुसन्धान र कानुनी कारबाही ?
काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘फेक डकुमेन्ट’ बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा पक्राउ गरिएको छ । जिल्ला अदालत काठमाडौंबाट साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उहाँलाई पक्राउ गरेको हो ।
मंगलवार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई ब्युरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्युरो भोटाहिटी पठाएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड (साढे ३२ अर्ब रुपियाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भनेर प्रसाईंले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको थियो ।
प्रसाईंको फेसबुक पेजबाट सोमबार सार्वजनिक भएको भिडियो रिपोर्टमा प्रयोग भएको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएपछि उहाँमाथि पक्राउ पुर्जी जारी भएको थियो । सोही पक्राउ आदेशअनुसार ब्युरोले उहाँलाई घरबाटै पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । प्रसाईंले पछिल्लो समय निकै विवादित र कानुनविपरीत गएर सामाजिक मर्यादा भड्काउने गरी अभिव्यक्ति दिँदै आउनुभएको छ ।
ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा कम्बोडिया बिजनेस फोरममा सहभागी भएको बेला सेयर होल्डरका रूपमा हस्ताक्षर गरेको दाबी गर्दै सामाजिक सञ्जालमा राखिएको उक्त भिडियोमा भनिएको छ– ‘हाम्रा संयोजक दुर्गा प्रसाईंलाई कम्बोडियाको एजियाटा कम्पनीमा हाम्रै प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको प्रमाण प्राप्त भएको छ ।’ १४ मे २०१९ मिति राखेर २१ करोड यूएसडी तथा लगानीकर्ता खड्गप्रसाद ओली उल्लेख छ । भिडियोमा प्रश्न गरिएको छ– ‘हाम्रोजस्तो गरिब देशका प्रधानमन्त्रीसँग कम्बोडियामा यत्रो लगानी गर्ने पैसा कहाँबाट आयो पत्रकार मित्रहरू ? न हाम्रो देशका प्रधानमन्त्री न उद्योगी न व्यापारी । यिनले कहाँबाट बनाए यत्रो पैसा ?’
प्रहरीले प्रसाईंविरुद्ध अन्य अभियोग पनि लगाउने तयारी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् । हालसम्मको प्रारम्भिक अनुसन्धानमा उहाँले बनाएर पोस्ट गरेको भिडियोमा देखिएका कागजात फर्जी भएको पाइएको र उहाँका पछिल्ला गतिविधिमाथि थप अनुसन्धान गरेर अन्य मुद्दासमेत चल्नसक्ने प्रहरी प्रवक्ता दानबहादुर कार्कीले नेपाल समाचारपत्रलाई बताउनुभयो ।
यद्यपि, अरू थप विषयमा समेत उहाँमाथि अनुसन्धान हुने उहाँको भनाइ छ । प्रसाईंविरुद्ध अहिलेलाई ‘किर्ते गर्न नहुने’ र साइबर अपराधसम्बन्धी अभियोग लगाउने तयारी रहेको स्रोतको दाबी छ ।
मुलुकी फौजदारी संहिता–२०७४ को दफा २७६ अनुसार किर्ते गर्न हुँदैन । सो ऐनको दफा ३०६ अनुसार बेइज्जती पनि गर्न पाइँदैन । सो कसुरमा पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा २८५ अनुसार आपराधिक उपद्रव गर्न पाइँदैन । प्रहरीले उहाँलाई आपराधिक उपद्रवविरुद्धको अभियोग पनि लगाउन सक्छ ।
आपराधिक उपद्रव पुष्टि भएमा ३ वर्षसम्म कैद हुन्छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा ८९ मा झुटा प्रमाण बनाउन नहुने कानुनी व्यवस्था छ । प्रहरीले प्रसाईंविरुद्ध झुटा प्रमाण बनाएको कसुरमा पनि अनुसन्धान हुने जनाएको छ । झुटा प्रमाण बनाएको पुष्टि भएमा ५ वर्षसम्म कैद हुन्छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा ५८ अनुसार राष्ट्रपति वा संसद्लाई धम्की दिन पाइँदैन । त्यसरी धम्क्याएको पुष्टि भएमा ७ वर्षसम्म कैद हुने व्यवस्था छ ।
दुर्गा प्रसाईंको यो हर्कत क्षम्य नरहेको र उहाँमाथि तत्काल कानुनी कारबाही हुनुपर्ने नेकपा एमालेका नेता विष्णु रिमालले बताउनुभयो । ‘यो नितान्त व्यक्तिगत र प्रधानमन्त्रीमाथिको झुटो आरोपयुक्त नक्कली कागजात हो । यस्ता कुरा मूर्खहरूले मात्रै पत्याउँछन् ।
हामीले धेरै बोलिरहनुपर्ने आवश्यकता छैन । जे गर्छ, कानुनले गर्छ’ –उहाँले भन्नुभयो । वरिष्ठ अधिवक्ता कृतिनाथ शर्मा पौडेलका अनुसार मुलुकी अपराध संहिताको दफा २ सय ७६ को उपदफा ३ (ग) अनुसार सरकारी वा सार्वजनिक लिखत किर्ते गरेको ठहर भएकामा सात वर्षसम्म कैद र सत्तरी हजार रुपियाँसम्म जरिवाना हुन्छ भने हस्ताक्षर किर्तेको कसुरमा पाँच वर्ष कैद र पाँच हजारसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
उहाँले यसअघि प्रचण्डको ९७ करोड नगद प्रकाश दाहालको मृत्युपछि वसन्त चौधरीसँग भएको दाबी गर्नुभएको भिडियो पनि भाइरल बनेको थियो । पछिल्लो समय विभिन्न मारवाडी व्यवसायीहरूविरुद्ध समेत प्रसाईंले सामाजिक सञ्जाल तताउनुभएको छ । केही समयअघि रास्वपाकी एक केन्द्रीय सदस्यलाई सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा पक्राउ परी हिरासतमुक्त हुनुभएको थियो । कुनै समय प्रचण्ड र केपी ओलीसँग निकट रहेर दुवै नेतालाई मार्सी चामलको भात खुवाएर चर्चामा आउनुभएका प्रसाईंको पछिल्ला अभिव्यक्तिहरू प्रायः विवादित हुँदै आएका छन् ।