पक्राउ पुर्जी जारी भएपछि सिद्धार्थ बैंकका अध्यक्ष ‘फरार’ ! 

काठमाडौँ । सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडियाविरुद्ध पक्राउ पूर्जी जारी भएको पाइएको छ । अर्घाखाँची सिमेन्ट उद्योगका संचालकसमेत रहेका बैंकका अध्यक्ष केडियाविरुद्ध राष्ट्रिय वन क्षेत्रमा अवैध उत्खनन गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएको हो । 

डिभिजन वन कार्यालय पाल्पाले केडियासहित सो उध्योगका अन्य संचालकहरुविरुद्ध जिल्ला अदालत पाल्पामा अभियोगपत्र दायर गरेको हो । सो अभियोगपत्रमा उनी फरार सूचीमा छन् । 

पक्राउ पूर्जी जारी भए पनि काठमाडौंमा उनी खुलेआम हिँडिरहेका छन् । सोही मुद्दामा अर्घाखाँची सिमेन्टका संचालक पशुपति मुरारका पक्राउ परेर छुटिसकेका छन् । केडियासहित उद्योगका संचालकबाट कुल ३९ लाख ६३ हजार ८ सय ५२ रुपैयाँ बिगो मागदाबी गरिएको छ भने मुलुकी अपराध संहिता अनुसार सबै संचालकलाई जनही ५-५ वर्ष कैद सजाय माग भएको छ ।

केडियाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको र उनी फरार भएपछि उनलाई फरार सूचीमै राखेर अभियोगपत्र दायर गरिएको जिल्ला वन कार्यालय पाल्पाका एक अधिकारीले पुष्टि गरेका छन् । 

फौजदारी मुद्दामा अभियुक्त भई मुद्धा दायरसमेत भइसकेको र फरार सूचीमै रहे पनि केडिया बैंकको संचालक समितिका अध्यक्षकै रुपमा छन् । अदालतको फरार सूचीमा रहेका उनी बैंकको संचालक समितिमा उपस्थित हुने, र विभिन्न सार्वजनिक कार्यक्रममासमेत खुलेआम हिँडिरहेका छन् । 

Source : https://arthasarokar.com/2024/11/siddharth-bank-chairman-on-the-run-after-the-arrest-warrant-was-issued.html