प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छ- मन्त्री पाण्डे
काठमाडौँ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औँल्याएका छन् ।
मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले भने- ‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नु पर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ । कतिपय प्रतिष्ठानहरु नाम मात्रैका छन् । कहीँ कानुनको अभाव त कहीँ भवनहरुको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरुलाई एक रुपता हुने गरी व्यवस्थित गर्न जरुरी छ ।’
मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबीच तालमेल नभएको जिकिर गरे । उनले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनु पर्नेमा जोड दिए । मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढीकरण गर्नका लागि मन्त्रालयले सदैव तत्पर भएको समेत उद्घोष गरे ।
ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हातम्छालीले गत आव २०८०-०८१ मा सात वटै प्रदेशमा ललितकला प्रदर्शनीहरु गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारहरुले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको,गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न,दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको बताए । साथै ललितकला प्रष्ठिानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभाव लगायतका विषयमा समेत प्रतिष्ठानले मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।