प्रदेश सांसद गौचनको भावपूर्ण बिदाइ

पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको गण्डकी प्रदेशसभामा शनिबार बिहान भावपूर्ण बिदाइ गरिएको छ ।

प्रदेश सभामा कांग्रेसबाट समानुपातिक सांसद ६३ वर्षीया गौचनको काठमाडौं ग्राण्डी हस्पिटलमा उपचार क्रममा निधन भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ग्राण्डी भर्ना गरिएकोमा पछिल्लो समय डेंगु पुष्टि भएको थियो । बिहीबार राति साढे १२ बजे एक्कासि हृदयघात भएको चिकित्सकले जनाएका छन् ।

गृहजिल्ला म्याग्दीमा अन्त्येष्टि गर्नुअघि एम्बुलेन्समार्फत शव ल्याएर शनिबार बिहान पोखरा नदीपुरस्थित प्रदेशसभा परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

बिहान ७ देखि ९ बजेसम्म भएको श्रद्धाञ्जली सभामा विभिन्न दलका नेता, कार्यकर्ता, परिवारजन, आफन्त, शुभचिन्तक, थकाली सेवा समितिका प्रतिनिधि लगायतको उपस्थिति थियो । सहभागी अधिकांशको आँखा रसाएका थिए ।

उनको पार्थीव शरीरमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरु, उपसभामुखले राष्ट्रिय झण्डा ओढाएका थिए ।

त्यसअघि नेपाली कांग्रेस प्रदेश समितितर्फबाट प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री विष्णुप्रसाद लामिछानेलगायतले पार्टीको झन्डा ओढाएका थिए भने थकाली सेवा समितिले समाजको झण्डा ओढायो ।

बेनीस्थित घरमा परिवार र आफन्तजन तथा संघसंस्थाले अन्तिम श्रद्धाञ्जली दिने छन् भने घाटमा पार्टीले अन्तिम श्रद्धाञ्जली गर्नेछ ।

२ मंसिरमा अन्त्येष्टि गर्ने यसअघि योजना थियो । त्यसका लागि गण्डकी प्रदेश सरकारले हेलिकोप्टर व्यवस्थापन गरी २ गते बिहान प्रदेश सभामा राखेर बेनी लैजाने तयारी थियो । तर, परिवारजनले झाँक्री विधिबाट किरिया गर्ने निर्णय गरेको र सोबमोजिम २ भन्दा १ गते नै गर्नुपर्ने झाँक्रीको सुझावबमोजिम शनिबार नै अन्त्येष्टि कार्यक्रम तय भएको प्रदेशसभा सदस्यसमेत रहेका गौचनका आफन्त विकल शेरचनले बताए ।

शुक्रबार गौचनको शव काठमाडौं थकाली सेवा समितिमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । अमेरिकामा रहेका उनका छोराबुहारी रोशन र दावा गौचन शुक्रबार दिउँसो काठमाडौं आएको आफन्त विपीन भट्टचनले बताइन् ।

सांसद गौचनका एक छोरा र एक छोरी हुन् । पति राम गौचनको केही वर्षअघि निधन भएको थियो । सांसद गौचनको २०१८ सालमा मुस्ताङको लेतेमा जन्म भएको हो । म्याग्दीका उनको यती होटल छ । २ वर्षअघि सांसद बनेपछि होटल व्यवस्थापन छोरीज्वाइँ अनुषा र मुकेश शेरचनलाई सुम्पेकी थिइन् । पोखरा १७, ड्यामसाइडमा पनि गौचन परिवारको घर छ ।

राजनीति, सामाजिक सेवा, पर्यटन व्यवसाय, एकल महिलाको हकहितमा निकै सक्रिय गौचनको निधनले थकाली समुदायले एक जना अगुवा नेतृ गुमाएको छ ।

The post प्रदेश सांसद गौचनको भावपूर्ण बिदाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103852/