मोबाइल अफ गरेर दीपक मनाङे फरार, खोज्न प्रहरी परिचालन !
काठमाडौँ । पटकपटक मन्त्री बनिसकेका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) सम्पर्कविहीन भएका छन् । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्ष कैद फैसला सुनाएपछि मनाङे मोबाइल अफ गरेर सम्पर्कविहीन भएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो ।
२०६१ सालमा मनाङेले चक्रे मिनल भनिने मिलन गुरुङमाथि तरबार प्रहार गरेका थिए । त्यसबेला मिलन गुरुङको हात काटिएको थियो । सोही मुद्दामा जिल्ला अदालत काठमाडौँले मनाङेविरुद्ध प्रहरीले दायर गरेको कर्तव्य ज्यान मुद्दा कर्तव्य ज्यान मुद्दा नभएर कुटपिटको मुद्दा ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएको थियो ।
तर, जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनमा पुनरावेदन गरेको थियो । सो मुद्दामा उच्च अदालत पाटनले मनाङेविरुद्धको मुद्दा ज्यानमुद्दा ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो । त्यसपछि उच्चको फैसलाविरुद्ध मनाङे सर्वोच्च अदालत पुगेका थिए ।
तर, सर्वोच्च अदालतलेसमेत उच्च अदालतको फैसला सदर गर्दै मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो । सर्वोच्चको यस्तो फैसलासँगै केही दिनअघि पोखरामै देखिएका मनाङे हाल सम्पर्कविहीन भएका छन् । मनाङेलाई पक्राउ गरी फैसला अनुसारको कैद सजाय कार्यान्वयन गर्न प्रहरी परिचालन गरिएको छ ।
Source : https://arthasarokar.com/2024/11/deepak-manage-2.html