राम्रो प्रतिक्रिया बटुल्दै ‘छक्कापञ्जा ५’ को ब्रेकअप सङ

काठमाडौं– यस वर्षको बहु प्रतीक्षित नेपाली फिल्म हो ‘छक्कापञ्जा ५’ । छायाङ्कन सुरु हुँदासम्म फिल्मका मुख्य दुई कलाकारबाहेक अन्य कलाकार नखुलाएको यो फिल्मको दोसो गीत सार्वजनिक भएसँगै फिल्मका लागि दर्शकहरु थप उत्साहित भएको छ ।

गत बुधबार ‘ब्रेकअप सङ’ नाम दिइएको फिल्मको दोस्रो गीत सार्वजनिक भयो । गीत ‘छक्कापञ्जा ५’ को ‘क्यारेक्टर लुक्स’ सहित सार्वजनिक गरेको हो । गीतमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित र रामेश्वर केसी फिचर्ड छन् । गीतले चरित्र चित्रणदेखि पात्रको गेटअप, मुड पनि दर्शाएको छ । दीपक र माग्ने बूढाले ब्रेकअप अंकित सुट लगाएका छन् ।

बाबुल गिरीको शब्द, संगीत, एरेन्ज र स्वरमा गीत तयार भएको छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोलाई समेत राम्रो प्रतिकृया मिलिरहेको छ ।

यो समाचार तयार पार्दा समेत युट्युबमा यस गितलाई २३ लाख ६० हजारभन्दा बढी पटक हेरिएको छ । गीतलाई सकारात्मक प्रतिक्रया मिलिरहेको छ । यो गीतमा फेसबुक, इन्टाग्राममा रिल र टिकटक बनाउनेहरु पनि निकै छन् । यो गीतको शब्दको कारण यो गीतलाई निकै रुचाइएको छ । गीतमा पूर्व प्रेमीले प्रेमिकासँग पोखेको आक्रोश पोखेका छन् । जसकारण यो गीत युवाहरुमाझ लोकप्रिय बनेको छ ।

छक्कापञ्जा ५ ले यसअघि दिपकराज गिरी र वर्षा शिवाकोटी फिचर्ड रहेको ‘बिहे भाको छैन’ ल्याएको थियो । यस गीतलाई पनि दर्शकको राम्रो साथ मिलेको थियो ।

आठ वर्षअघि प्रदर्शनमा आएको छक्कापञ्जाको सिरिजले दर्शकमाझ सामाजिक, राजनितिक जस्ता समयासमयिक कथामा कमेडि पस्किँदै आएको छ । यो सिरिजको यसअघि प्रदर्शनमा आएका सबै फिल्मले राम्रो प्रदर्शनसमेत गरेको थियो ।

यो फिल्ममा राजनीति भन्दा पर रहेर सामाजिक कथा प्रस्तुत गर्न लागिएको फिल्मको लेखकसमेत गरेका दिपकराज गिरीले बताउँदै आएका छन् । फिल्मको गीतहरुले पनि यो फिल्ममा कमेडी र सामाजिक कथावस्तु प्रस्तुत गर्ने अनुमान गरिएको छ । फिल्मको टिजर र ट्रेलर हालसम्म सार्वजनिक भइ नसकेकाले यस पटक फिल्मको कथावस्तु जान्न समेत दर्शकहरु उत्साहित बनेका छन् ।

आमा सरस्वती मुभिज र आइएमइको प्रस्तुती रहेको फिल्मलाई दिपाश्रीले निर्देशन गरेकी हुन् । फिल्ममा दीपक शर्मा र बाबुल गिरीको संगीत र हरि हुमागाँइको छायांकन रहेको छ । यो फिल्म असोज २४ अर्थात् दशैँको फुलपातीको दिन प्रदर्शनमा आउँदैछ ।

Source : https://onlinetvnepal.com/2024/09/183774/