विद्युत आपूर्तिको समस्यादेखि दशैँ मेला व्यवस्थापनका लागि छलफल

जनकपुरधाम उपमहानगरपालिकामा केही दिनदेखि विद्युत् आपूर्तिको समस्या हुन थालेपछि जनगुनासो बढेको छ । जनगुनासो बढ्न थालेपछि विद्युत आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले अत्यधिक गर्मीको प्रकोपको बेला घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै ट्रान्सफरमर बिग्रेको बहानामा उपभोक्तालाई दुःख दिन नपाइने बताए । प्रत्येक वर्ष आयोजना हुने माँ राजदेवी, बौधिमाइ तथा अन्नपूर्णमाइको पूजा व्यवस्थापनबारे शनिबार जनकपुरधाममा सम्पन्न सर्वपक्षीय बैठकमा प्रमुख साहले एउटा होइन दुइटा ट्रान्सफर जडान गर्नु परे गरेर विद्युत्को समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

यता ढल्केबर जनकपुरधाम मेनलाइनको ट्रान्सफर बिग्रेको भन्दै महिना दिन अघिदेखि नै नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरधामले चरम लापरबाही गर्दै आएको बताउँदै उनले समस्याको समाधान चाडपर्वअघि नै गर्न आग्रह गरे । सो बैठकमा जनकपुरधाम उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले विद्युतको अनियमितता र पटक–पटक लाइन काटिनुले उद्योगी व्यवसायीमा आक्रोश बढ्दै गएको समस्या आउने दिनमा प्राधिकरणकै लागि ठूलो समस्या बन्ने बताए ।

सो बैठकमा मेलामा देखिने गरेको पकेटमारी तथा चोरीको समस्यालाई निराकरण गर्नका लागि सादा पोसाकमा व्यापक प्रहरी परिचालन गरिने र स्वयंसेवकको सहकार्यमा सुरक्षा निकायले इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भुवनेश्वर तिवारीले व्यक्त गरे । सो बैठकमा भारी संख्यामा बोकाबली चढाउने र सप्तमीको दिन श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित पार्नका लागि विभिन्न उपसमिति निर्माण गरी काम गर्न सबै पक्षले सहकार्य गर्ने निर्णय गरेको छ ।

दशैँ तिहारमा लाग्ने मेलाको आयोजना गर्दै आएका राम युवा कमिटी तथा महावीर युवा कमिटीको संयुक्त रुपमा सम्पन्न बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर लालकिशोर साह, सशस्त्र प्रहरी धनुषाका प्रहरी नायव उपरीक्षक सुमन बोगटी, राम तथा महावीर युवा कमिटीका निवर्तमान एवम् भूपू पदाधिकारीसहितका सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।

The post विद्युत आपूर्तिको समस्यादेखि दशैँ मेला व्यवस्थापनका लागि छलफल appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/09/22/98946/