विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव
पोखरा । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । घटस्थापनामा मन्दिर पूजाआजा गर्नेहरुका बिहीबार बिहानैदेखि घुँइचो छ । त्यहाँ नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्याले धेरैको ध्यान खिचेको थियो ।
समितिले १७ वर्षदेखि मन्दिरमा नवदुर्गा महोत्सव गर्दै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । नवदुर्गा शोभायात्रा भने राष्ट्रिक शोक घोषणाले स्थगित गरी अन्य कार्यक्रमलाई निरन्तरता दिइएको श्रेष्ठले बताए ।
यस्तै, श्रीमद्देवीभागवत् ज्ञान महायज्ञ सुरु भएको छ । बिहान र दिउँसो गरी महायज्ञमा संगीतमय झाँकीसहित कथावाचन गरिने छ । विजयादशमी अवधिमा मन्दिरमा बिहान ४ बजेदेखि नित्य पूजा हुनेछ । भक्तजनका लागि ५ बजेदेखि मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ । ५ देखि ९ बजेसम्म बालगोपाल भजनमण्डल विन्ध्यवासिनी महिला भजन समूहलगायतबाट भजनकीर्तन हुनेछ । प्रत्येक साँझ ६ बजे आरती गरिनेछ । बिहान ९ देखि दिउँसो १२ बजेसम्म तथा दिउँसो २ देखि ४ बजेसम्म श्रीमद्भागवत् कथा प्रवचन हुनेछ ।
मन्दिरमा संकलित भेटी समितिले मन्दिरको सौन्दर्यकरण, पूर्वाधार निर्माणमा खर्चिंदै आएको समितिका सदस्यसचिव तीर्थ श्रेष्ठले विश्वास रहेको बताए ।
२०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीयरुपमा अध्यापन कार्य हुने गरेको छ । यसलाई कक्षा १२ सम्म बिस्तार गर्ने समितिको लक्ष्य छ ।
यहाँ २०७२ सालदेखि विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत सञ्चालित छ । जहाँ ज्येष्ठ नागरिकले दिवा सेवा प्राप्त गर्ने गरेका छन् । हाल केन्द्रका लागि सुविधायुक्त भवन निर्माण करिब सम्पन्न भएको समितिले जनाएको छ । समितिले एम्बुलेन्स सेवा पनि सञ्चालन गरिसकेको छ । मन्दिरमा ज्येष्ठ नागरिक तथा असहायका लागि आवतजावत गर्न विद्युतीय भ¥याङ (लिफ्ट) व्यवस्था गरिएको छ ।
समितिले पोखरा अधिकारीटोलमा २६ रोपनीमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय भर्खरै सञ्चालन गरेको छ ।
यसैबीच, नवदुर्गा सुरुसँगै पोखराको कास्कीकोटस्थित गुप्तकालिका मन्दिरमा पनि नवदुर्गा महोत्सव सुरु भएको छ ।
The post विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101687/