वैदेशिक अनुदान शून्य र विकास खर्च अति न्यून

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा पुँजीगत खर्च २५ प्रतिशतभन्दा बढी खर्च गरेको संघीय सरकार विकास खर्च भने १० प्रतिशत पु-याउन पनि असफल रहेको छ ।

सरकारको आम्दानीभन्दा खर्च ८६ अर्ब बढी

चालू आवमा ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान लिने योजना बुनेको सरकारले चार महिनामा एक रुपैयाँ पनि अनुदान लिन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च ९ दशमलव ८ प्रतिशत मात्रै रहेको छ ।

चालू आवमा १४ खर्ब ७१ अर्ब ६२ करोड आम्दानी गरी कुल १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको सरकारले विकास खर्चबाहेक अन्य शीर्षकमा भने लक्ष्य पु-याएको छ ।

तलब–भत्ता शीर्षकको चालू खर्चमा हालसम्ममा २५ दशमलव ६५ प्रतिशत खर्च गरिसकेको छ । एक वर्षमा ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ चालू खर्चको लक्ष्य लिएको सरकारले चार महिनामा २ खर्ब ९२ अर्ब ५२ लाख रुपैयाँ खर्च गरिसकेको छ ।

हालसम्ममा सरकारको आम्दानी ३ खर्ब २९ अर्ब १ करोड ५५ लाख रहेको छ भने कुल खर्च ४ खर्ब १५ अर्ब २ करोड १ लाख रुपैयाँ छ । सरकारी ढुकुटी चार महिनामा ८६ अर्ब रुपैयाँ घाटामा पुगेको छ ।

कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात् ४ खर्ब १५ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको २२ दशमलव ७७ प्रतिशत छ भने बजेट खर्च २२ दशमलव ३१ प्रतिशत छ ।

सरकारले चालू आवमा पुँजीगत शीर्षकका ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर विनियोजन गरेकामा हालसम्ममा ९ दशमलव ८ प्रतिशत अर्थात् ३४ अर्ब ५३ करोड १० लाख रुपैयाँ मात्र खर्च गरेको छ । हरेक वर्ष विकास खर्चमा कमजोर रहेको सरकार चालू आवमा पनि सुस्त नै रहेको छ । हरेक वर्ष विकासका लागि तलब–भत्तामा कुनै कमी नआउने भए पनि विकास खर्चमा भने बर्सेनि ६० प्रतिशतको हाराहारीमा मात्र खर्च हुने गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार वित्तीय व्यवस्था शीर्षकमा चालू आर्थिक वर्षका लागि ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बराबर विनियोजन गरिएकामा कात्तिकसम्ममा ८९ अर्ब ९६ करोड २४ लाख रुपैयाँ बराबर खर्च भएको छ । सरकारको चालूतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५ दशमलव ६५ प्रतिशत छ । चालूगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा २ खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

यसैगरी, चालू आवका लागि सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकामा चार महिनाको अवधिसम्ममा कुल ३ खर्ब २९ अर्ब १ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

जसमध्ये कर राजस्वतर्फ २ खर्ब ८९ अर्ब ८९ करोड र गैरकरतर्फ ३३ अर्ब ३४ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ । अन्य शीर्षकमा भने ५ अर्ब ७७ करोड ५५ लाख रुपैयाँ प्राप्ति गरेको छ ।

चार महिनाको अवधिमा पनि सरकारको बजेट खर्च गर्ने क्षमता बढेको अझै देखाउन सकिएको छैन । यसले गर्दा बजेट फुक्ने मात्रै हुन्, खर्च गर्ने होइनन् भन्ने खालको बुझाइ सर्वसाधारणमा पर्ने गरेको छ ।

सरकारी कर्मचारीहरू कुनै राजनीतिक दलविशेषसँग आबद्ध रहेका कारण काम नगरे पनि तलब पाइने र राजनीतिक संरक्षण प्राप्त हुने हुँदा कर्मचारीले बढुवाका लागि पढ्नेबाहेक काम नगर्ने गरेको आरोप लाग्दै आएको छ ।

कतिपय आयोजनामा ठेकेदारले राम्रो काम गर्छु भन्दाभन्दै पनि उसलाई दुःख दिएर भरसक कामै गर्न नदिने वातावरण कर्मचारी वर्गबाट गर्ने गरेको र बिल पास गर्न घुस दिन बाध्य पार्ने गरेको निर्माण व्यवसायीहरूले बताउँदै आएका छन् ।

विकास निर्माणका काम र कार्यक्षेत्र निर्धारणमा तीन तहबीच स्पष्टता नरहेको र विभिन्न कानुनी जतिटलाका कारण विकास बजेट खर्च हुन नसकेको एकथरीको भनाइ छ ।

दुईतिहाइको बलियो सरकारले पनि बजेट खर्च गर्ने क्षमता नदेखाएकामा सरकारप्रति नै जनता रुष्ट हुँदै आएका छन् ।

पूर्वअर्थसचिव रामेश्वर खनाल नेपालमा आयोजना व्यवस्थापनमा जुन किसिमको कमजोरी छ, त्यो नै विकास खर्च कम हुनुको प्रमुख कारण रहेको बताउँछन् ।

पुँजीगत खर्च बढाउनका लागि सबैभन्दा पहिले मुलुकको विकास प्रशासनलाई पुनरवलोकन गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पारेको बताउँछन् । उनले विकास अवरुद्ध हुँदा भावी पुस्तासमेत गरिबी र अभावको दुष्चक्रमा पर्ने बताए ।

The post वैदेशिक अनुदान शून्य र विकास खर्च अति न्यून appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103877/