सम्बन्ध दिगो भइरहोस्
प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् । पछिल्लोपटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणको निम्तो नदिएपछि चीन भ्रमण गर्न लागेको भन्दै केही व्यक्ति तथा राजनीतिक दलले ओलीले चाइना कार्ड प्रयोग गरेर भारतलाई दबाब दिन लागेको भनी डंका पिटिरहेका छन् ।
केही बुद्धिजीवी तथा दलका नेताहरुले भारत भ्रमण नगरी चीन भ्रमणमा प्रधानमन्त्री जानुले भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने भन्दै चीन भ्रमण गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । तर सरकारले भने चीन भ्रमणको तयारीलाई तीव्रता दिएको छ । सरकारले चीनसँग के–कस्ता सहयोग लिने भन्ने बारेमा विज्ञहरुसँगको छलफललाई पनि तीव्रता दिइएको पाइन्छ ।
यसपटकको चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीबाट विगतमा चीन सरकारले सहयोग गर्ने गरी प्रतिबद्धता गरेको रकमको निकासीका लागि चीन सरकारसँग अनुरोध गरिने भएको छ भने चिनियाँ सहयोगमा सञ्चालित परियोजनालाई समयमा नै निर्माण सम्पन्नका लागि अनुरोध गरिने भएको छ ।
चीनले सन् २०१० देखि नेपाललाई दिने भनेको नगद सहयोगमध्ये ८५ अर्ब रुपियाँभन्दा बढी रकम आउन बाँकी रहेको र अहिलेसम्म पनि उक्त रकम नआएकाले त्यस विषयमा समेत कुरा उठाइने चर्चा छ । यसबाट चीनले सहयोग घोषणा गर्ने तर बचनबद्धता पूरा नगर्ने उसको बानीप्रति नेपालले शंका गर्न थालेको इंगित हुन्छ ।
दुई छिमेकी मुलुकबीच सम्बन्ध राम्रो बनाउने भन्दै जनस्तरमा विभिन्न कार्यक्रम हुने गरे पनि दुई सरकारबीचको सम्बन्धलाई लिएर अहिले टीकाटिप्पणी हुनु पक्कै पनि सुखद पक्ष होइन । चीनले कि सहयोग नै नदिनु, दिने घोषणा गरेपछि समयमा नै त्यो सहयोगको सदुपयोग गर्न पाइएन भने त्यसले ‘माने’ नराख्ने भएकाले त्यसतर्फ चीन सरकारले पनि ध्यान दिनुपर्ने देखिन्छ ।
चीनले घोषणा गरेको सहयोगका बारेमा बेइजिङ बस्ने नेपाली कूटनीतिज्ञहरुले समयमा नै पहल गर्न नसक्दा पनि यो समस्या देखा परेको टिप्पणी हुन थालेको छ । नेपालबाट राजदूत भएर जानेहरु जागिरे मानसिकतामा सीमित हुँदा सरकार अन्तर्राष्ट्रिय समुदायमा पनि कमजोर हुँदै गएको देखिन्छ । त्यसैले छिमेकी मुलुक चीन र भारतमा कूटनीतिज्ञ पठाउँदा सरकारले होस पु¥याउनुपर्ने देखिन्छ ।
पछिल्लो समय नेपालको कूटनीति कमजोर बन्दै गएको भन्दै विभिन्न फोरममा नेपालको आलोचना हुने गरेको छ तर नेपालका शासकहरुको ध्यान अहिलेसम्म त्यसतर्फ जान सकेको देखिँदैन । राम्रो भन्दा पनि हाम्रो भन्ने प्रवृत्ति हाबी हुँदा समस्या बढ्दै गएको छ भने नेपालको अन्तर्राष्ट्रिय छविसमेत धुमिल हुँदै गएको छ । यसतर्फ शासकहरुले समयमा नै ध्यान दिनुपर्ने होइन र ? तर त्यसो हुन सकेको देखिँदैन ।