सानो संसारलाई दोश्रो गाँसमा पनि ढुँगा
काठमाडौं । गत असोज १२ मा रिलिज भएको नेपाली चलचित्र सानो संसारलाई पहिलो गाँसमै ढुँगा परे जस्तै भएको थियो । किनकी यो चलचित्र रिलिज भएको दिनबाटै तिनदिनसम्म लगातार अविरल वर्षा र बाढी पहिरोले मुलुकमा तान्डव मचाएपछि त्यतिबेला दर्शकहरु हलमा जान सकेनन् । त्यसपछि यो चलचित्रको प्रदर्शन स्थगित गरेर रिलिज भएको तेश्रो दिनमा हलबाट हटाईएको थियो ।
यही चलचित्र १० कात्तिकबाट फेरी नेपालका चलचित्र घरमा रिलिज गरियो । तर दोश्रो रिलिजमा पनि यो चलचित्रलाई गाँसमा ढुँगा लागेको जस्तै भएको छ । चलचित्रले निकै कम शो पाएको छ भने ती शोमा पनि दर्शकहरुको उल्लेख्य उपस्थिति छैन ।
यो चलचित्रलाई दुई पटक रिलिजसँगै दुई पटक प्रिमियर पनि गरियो । दुबै प्रिमियरमा सहभागी भएका चलचित्रकर्मी तथा शुभचिन्तकले यो चलचित्रको खुलेर प्रसँसा गरे । चलचित्र राम्रो बनेको दाबीसमेत गरे । तर चलचित्रकर्मीको प्रसँसाले खास्सै महत्व राखेन । अहिलमा दर्शकको उपस्थित रिलिज भएको पहिलो दिनबाटै निकै पातलो देखिएको छ ।
अहिले पनि देशका सबैजसो चलचित्र घरमा दशैं रिलिज चलचित्रहरु छक्का पञ्जा ५ र १२ गाउँ नै प्रदर्शन भईरहेका छन् । यस्तै अर्को चलचित्र ज्वाई सावले पनि अझै केही हलमा राम्रो व्यापार गरिरहेको छ । यी तीन मध्य दुई चलचित्र छक्का पञ्जा ५ र १२ गाउँ तेश्रो सातामा पनि हाउसफुलका प्रदर्शन भएपछि नयाँ चलचित्र सानो संसारले राम्रो शो ने पाउन सकेको छैन । दर्शक नआएको भन्दै केही हलबाट यो चलचित्र आईतबार नै उतारिएको छ । बाँकी हलमा पनि दर्शक नभएपछि शोहरु कम गर्नेक्रम जारी छ ।
यो चलचित्रमा अभिनेता केदार घिमिरेकी पत्नी सीतादेवी तिमस्लिनाको मुख्य भूमिका रहेको छ । चलचित्र सानो संसारलाई आफ्नै श्रीमान केदारको चलचित्र छक्का पञ्जा ५ सँग जुधाउँदा सीतादेवीले चलचित्र घरमा यतिबेला ब्यबसायिक असफलता भोग्नु परेको छ । चलचित्रमा सीतादेवीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटीलगायतको मुख्य भूमिकामा छन् । यो चलचित्रलाई सिद्धार्थ पुडासैनी निर्देशक गरेका हुन् । यस अघि सानो संसार वेभ रिलिजको रुपमा प्रदर्शन हुँदै आएको थियो । वेभ सिरिजलाई कथानक चलचित्रको रुपमा निर्माण गरेर ल्याउँदा चलचित्र घरमा भने सानो संसारले दर्शकको मन जित्न सकेको छैन ।
दिग्गज निर्माता माधव वाग्ले र अर्जुन कुमारले सानो बजेटमा राम्रो चलचित्र बनाएको बताउँदै आएका थिए । तर चलचित्रले त्यो सानो बजेट पनि उठाउन नसक्ने अबस्था आएको हल सञ्चालकहरु बताउँछन् ।
The post सानो संसारलाई दोश्रो गाँसमा पनि ढुँगा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103001/