सामाजिक संस्कारको प्रभाव

एकदिनको कुरा हो ।

मेरो साथी वसन्तको घरमा केही काम विशेषले म पुगेको थिएँ । वसन्त कुनै एक कलेजको प्राध्यापक थिए भने उनकी श्रीमती नविना उच्च्च माध्यमिक विद्यालयमा समाजशास्त्र पढाउने शिक्षिका थिइन् । म बिदाको दिन शनिवार त्यहाँ पुगेको थिएँ । त्यति बेला मेरो साथी वसन्त र उनकी श्रीमती नविना भाउजू अनि अरु दुईजना गाउँलेजस्ता देखिने अधबैंसेहरु कोठाबाहिर चोटामा बसी एक–आपसमा गन्थन गरिरहेका थिए ।

त्यस बेला नविना भाउजू विभिन्न हाउभाउ गरी कराउँदै थिइन् । उनले के बोलेको हो ? त्यति बेलासम्म पनि मेरो कानले ठम्याउन सकेको थिएन । मैले नविना भाउजूतिर हेर्दै भनेँ, ‘यहाँ केको गन्थन चलिरहेको रहेको छ नविना भाउजू ? म अहिले जान्छु, भोलि–पर्सितिर आउँछु है ।’ मैले यति भनेर के फर्किन लागेको थिएँ, साथी वसन्त जुरुक्क उठेर मेरो हात समाउँदै भन्न थाले, ‘केही होइन, पाँच मिनेट पनि यहाँ बस्न भ्याउँदैनौ तिमी ?’


साथी वसन्तको कुरा सुनेर म एउटा झ्यालको कुनामा थच्चक बस्न पुगेँ । एकछिन् बस्दै त्यति बेला त्यहाँ के कुराको गन्थन भइरहेको भन्ने कुरा सबै खुलस्त भयो । त्यहाँ माइली नाम गरेकी एउटी केटी थिइन् । ती माइलीलाई त्यहाँ रहेका अधबैंसे दुई मानिसहरुले केही वर्षअगाडि काम गर्नको लागि त्यस घरमा ल्याइदिएका रहेछन् ।

अब ती माइलीकी आमाले छोरा–बुहारी परदेशिन लागेपछि छोरीलाई फर्काएर ल्याइदिन ती दुई मानिसलाई पठाएकी रहिछन् । तर नविना भाउजूले एक–दुई महिनापछि फर्काइदिन्छु, अहिले लाने कुरा नगर, बरु तलब दोब्बर नै बढाइदिन्छु भन्दै थिइन् । उनीहरु पटक्कै नमान्ने ।


यत्तिकैमा ती गाउँले दुईजनामध्ये एकजना भन्न थाले, ‘हजुरहरुलाई त्यति बेला मुख खोल्न नसकेको मात्र हो, हामी त सार्की हौँ ।’ यो कुराले मेरो साथीकी श्रीमती नविना भाउजू त झस्किँदै भन्न थालिन्, ‘ल ल मलाई त पहिले नै शंका लागेको थियो । अब के गर्ने होला ?’ उनले अगाडि बसेकी माइलीतिर हेर्दै भन्न थालिन्, ‘छिटो तिम्रो झोलाझाम्टा लिएर आऊ । तिम्रो यो तलब पनि लेऊ, यसमा एक हजार थपिदिएको छु ।’

यति भनेर उनले माइलीलाई ती मानिसहरुसँग जिम्मा लगाएर बिदा गरी पठाइन् । घरबाट फोन आएको कारण म पनि फर्कें । अनि मलाई लाग्यो, संस्कार भनेको कस्तो हुँदो रहेछ ! ‘वास्तवमा छुवाछुत भन्ने कुरा कसैले पनि गर्न पाइँदैन, संविधानमा नै लेखिएको कुरा’ भन्दै कक्षामा विद्यार्थीलाई पढाउने भएर पनि नविनाले संस्कार छोड्न सकिनन् ।

संस्कारको प्रभाव कस्तो हुँदो रहेछ ! अचम्म ! त्यसैले होला राजावादीहरु पनि यही संस्कारले गर्दा नै राजा भन्नेबित्तिकै देवतासमन हाम्रो राजा भन्दै पछि–पछि लागेको जस्तो लाग्छ ।
(सत्य घटनामा आधारित)

Source : https://newsofnepal.com/2024/11/20/679035/