४५ वर्षपछि फेरि परालको आगो बन्ने

कथाकार गुरुप्रसाद मैनालीको कृति परालको आगोमा आधारित रहेर फिल्म निर्माण हुने भएको छ।


मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्सलाई निर्माणको मञ्जुरी दिएको हो। परालको आगो मैनालीको कथा संग्रह नासोमा संग्रहित छ।

फिल्मका निर्माता सुशीलकुमार पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले कथाको मर्म नबिग्रने गरी निर्माणको अनुमति दिएका हुन्। निर्माता पोखेलका अनुसार फिल्मको प्रदर्शन २०८२ को दशैंमा हुनेछ। यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए।


निर्माता पोखरेलले लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्ने बताए। निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म आगामी फागुनमा छायांकनमा जाँदैछ।

निर्माण पक्षले कलाकार फाइनल हुन बाँकी रहेको जनाएको छ। कथा परालको आगोमा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ। निर्माता पोखरेलले यसअघि मैदान, जीवनदाता, निगरानी, जय शिव शंकर, लभ सभ, राधे र यात्रा नामका फिल्म निर्माण गरिसकेका छन्।

Source : https://newsofnepal.com/2024/11/19/678848/