अमेरिकाको न्युयोर्कमा भीड व्यवस्थापन शुल्क लागू गरिदै , ट्रम्पद्धारा आलोचना
अमेरिकाको न्युयोर्कमा भीड व्यवस्थापन शुल्क लागू गरिने भएको छ । यो शुल्क लागू गर्ने न्युयोर्क पहिलो शहर बन्ने तयारीमा छ ।
गभर्नर केथी होचुलले सडकको मूल्य निर्धारण ५ जनवरीदेखि सुरु हुने घोषणा गर्नुभएको छ । यो घोषणाले सडकहरू खाली गर्न, प्रदूषण घटाउन र लाखौं न्युयोर्करहरूको लागि राम्रो सार्वजनिक यातायात सेवा प्रदान गर्नू मद्दत गर्ने अपेक्षा गरिएको गभर्नर होचुलले बताउनु भयो ।
केही यात्रु र व्यवसायीबाट विरोध भए पछि होचुलले जुन महिनामा देखि लागू गर्न खोज्नु भएको यो योजनालाई स्थगित गर्नुभएको थियो । नयाँ योजनामा म्यानहट्टनको निश्चित क्षेत्रहरूमा प्रवेश गर्ने सवारीसाधनहरूका लागि पहिले प्रस्ताव गरिएको शुल्कभन्दा कम शुल्क लाग्नेछ ।
यद्यपि यो भीड व्यवस्थापन शुल्कलाई आउँदो राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कडा आलोचना गर्नुभएको छ । यो शुल्क म्यानहट्टनको ६० औं सडकभन्दा तलका क्षेत्रमा यात्रा गर्ने सवारीसाधनहरूलाई लागू हुनेछ । जुन न्युयोर्कको मुख्य मेट्रोपोलिटन क्षेत्र हो ।
यस कार्यक्रमको उद्देश्य संकटग्रस्त मेट्रोपोलिटन ट्रान्सपोर्टेसन अथोरिटीलाई आर्थिक सहयोग पुर्याउनु हो । जसले शहरको सबवे, बसहरू र अन्य सार्वजनिक यातायात व्यवस्थापन गर्छ । साथै न्युयोर्कको अन्तहीन ट्राफिकलाई कम गर्नु पनि यसको उदेश्य रहेको बताइएको छ ।
होचुलले बिहीबार नयाँ योजनामा कारहरूका लागि दिउँसोको लागि ९ डलर हुने घोषणा गर्नुभयो । जुन पहिले १५ डलर प्रस्ताव गरिएको थियो ।
साना ट्रकहरू र गैर यात्रा बसहरूले म्यानहट्टन प्रवेश गर्न १४.४० डलर तिर्नु पर्नेछ । ठूला ट्रक र पर्यटक बसहरूले २१.६० डलर तिर्नुपर्नेछ । सार्वजनिक यातायातको वकालत गर्ने समूह राइडर्स एलायन्सले होचुलको यो कदमको स्वागत गरेको छ ।
होचुलको यो योजना जनवरीमा नयाँ राष्ट्रपतिको रूपमा शपथ लिन लागेका ट्रम्पभन्दा अगाडि नै लागू हुने छ ।
बुधबारको पत्रकार सम्मेलनमा होचुलले वासिङ्टनमा को सत्तामा छ भनेर आफ्नो योजना प्रभावित नहुने बताउनु भयो । आलोचकहरूले यो योजना अमेरिकी चुनावको एक हप्ता पछि पुनः सुरु गरिएको बताएका छन् ।
Source : https://www.khasokhas.com/211569