अमेरिकामा नेपाली विद्यार्थीहरूको ओभरस्टे दरमा गिरावट, ओभरस्टे भएपछि अमेरिका छाड्ने कति?
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगत कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) बाट प्राप्त तथ्यांक अनुसार आर्थिक वर्ष २०२३ मा संयुक्त राज्य अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूको ओभरस्टे (स्वीकृत अवधि भन्दा लामो बसोबास) दरमा उल्लेखनीय कमी आएको छ। ४,३९१ नेपाली विद्यार्थीहरू अमेरिका छोड्नुपर्ने सूचीमा थिए, जसमा २३ जनालाई “देश बाहिरको ओभरस्टे” र ४२५ जनालाई “देश भित्रको सम्भावित ओभरस्टे” को रूपमा वर्गीकृत गरिएको छ। यसबाट कुल ओभरस्टे दर १०.२०% देखिएको छ, जसमा देश भित्रको सम्भावित ओभरस्टे दर ९.६८% रहेको छ।
यस वर्षको तथ्यांक आर्थिक वर्ष २०२२ को तुलनामा सुधार भएको देखिन्छ, जहाँ ४,०८३ नेपाली विद्यार्थीहरूलाई अमेरिका छोड्नुपर्ने सूचीमा राखिएको थियो। ती मध्ये ३७ जना “देश बाहिरको ओभरस्टे” र ६४३ जना “देश भित्रको सम्भावित ओभरस्टे” को रूपमा वर्गीकृत थिए। त्यस वर्ष नेपाली विद्यार्थीहरूको कुल ओभरस्टे दर १६.६५% थियो, जसमा देश भित्रको सम्भावित ओभरस्टे दर १५.७५% थियो।
सीबीपीले ओभरस्टेको दुई प्रकार निर्धारण गरेको स्पष्ट पारेको छ: जसमा देशबाट बाहिरिएको तथ्यांक दर्ता नभएका व्यक्तिहरू (देश भित्रको सम्भावित ओभरस्टे) र स्वीकृत अवधि समाप्त भइसकेपछि बाहिरिएको तथ्यांक दर्ता भएका व्यक्तिहरू (देश बाहिरको ओभरस्टे) समावेश छन्।
सीबीपीको व्याख्या अनुसार ओभरस्टे ती गैरआप्रवासी हुन् जसले संयुक्त राज्य अमेरिकामा कानूनतः प्रवेश गरेका थिए तर आफ्नो स्वीकृत बसोबास अवधिभन्दा लामो समय बसोबास गरे। यो अवधि निश्चित समयावधि पनि हुन सक्छ वा कुनै विशेष क्रियाकलाप जस्तै पूर्ण अध्ययन कोर्ष वा कुनै प्राविधिक/व्यावहारिक तालिम कार्यक्रमको अवधिसम्म हुन सक्छ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले थप व्याख्या गरेको छ , “विदेशी नागरिकले आफ्नो आगमनको उद्देश्य पुरा गरेपछि वा त्यो उद्देश्यको लागि समर्पित गतिविधिमा संलग्न नरहेपछि स्वीकृत बसोबास अवधि समाप्त हुन्छ। उदाहरणका लागि, अध्ययनका लागि अमेरिका प्रवेश गरेका विद्यार्थीले आफ्नो कार्यक्रम समाप्त गरेपछि अमेरिका छोड्नुपर्छ, अर्को आप्रवासन स्थिति परिवर्तन गर्नुपर्छ, वा अर्को अध्ययन कार्यक्रममा अगाडि बढ्नुपर्छ।”
हालै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले २३,०४३ नेपाली विद्यार्थीहरू अहिले अमेरिकामा अध्ययनरत रहेको विवरण दिएको थियो । यो तथ्यांक सेभिजबाट संकलित हो, जसअनुसार अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सूचीमा नेपाली विद्यार्थीहरू १३ औं स्थानमा रहेका छन्।
भारतले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू पठाएको छ भने दोस्रो स्थानमा चीन छ। दक्षिण कोरिया, क्यानाडा, ब्राजिल, भियतनाम, जापान, ताइवान, नाइजेरिया र मेक्सिको शीर्ष १० मा रहेका छन्। बंगलादेश र कोलम्बिया क्रमशः ११ औं र १२ औं स्थानमा छन् भने नेपाल १३ औं स्थानमा रहेको छ।
नेपाली विद्यार्थीहरूको संख्या २०२२ मा २०,३४४ बाट २०२३ मा २३,००० भन्दा बढी पुगेको छ। यो तथ्यांकले विद्यार्थी भिसामा अमेरिकामा प्रवेश गरेका वा अमेरिका प्रवेश गरेपछि विद्यार्थी स्थितिमा परिवर्तन गरिएका विद्यार्थीहरूलाई समावेश गरेको छ, जो विभिन्न कलेज र विश्वविद्यालयहरूमा अध्ययनरत छन्।
२०२३ मा सेभिजको तथ्यांक अनुसार ३,४१६ नेपाली विद्यार्थीहरूलाई एसटीईएम ओपीटी कार्यक्रममा सहभागी हुन स्वीकृति दिइएको छ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा स्टीम ओपीटी स्वीकृत हुनेहरूमा भारतीयहरू पहिलो स्थानमा छन्, त्यसपछि क्रमशः चिनियाँ, दक्षिण कोरियाली र नेपालीहरू छन्। स्टीम ओपीटी कार्यक्रमले विज्ञान, प्रविधि, इञ्जिनियरिङ, र गणित विषयमा डिग्री प्राप्त गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अमेरिकामा व्यावहारिक कामको अनुभव प्राप्त गर्न अनुमति दिन्छ।
आर्थिक वर्ष २०२४ मा १४,००० भन्दा बढी नेपाली विद्यार्थीहरूले अमेरिकी विद्यार्थी भिसा प्राप्त गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो। ब्यूरो अफ कन्सुलर अफेर्सका अनुसार आर्थिक वर्ष २०२३ मा ६,२०३ नेपाली विद्यार्थीहरूले विद्यार्थी भिसा प्राप्त गरेका थिए, जुन २०२२ मा ६,७८० को तुलनामा केही कमी हो तर २०२१ मा ३,४५३ को तुलनामा धेरै वृद्धि भएको छ।
Source : https://www.khasokhas.com/211204