आज काग तिहार मनाइँदै
काठमाडौं ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।
तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै छ । धार्मिक मान्यताअनुसार यमराजको सन्देश वाहकका रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई पूजाअर्चना गरेर चोखो खानेकुरा दिने गरिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा लिइन्छ ।
तिहारको पहिलो दिन आज कागको पूजा गरेर काग तिहार मनाएपछि चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११४५ र म्हपूजा (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।
धार्मिक मान्यताअनुसार वैदिक कालमा भगवान विष्णु खुसी भई बलिराजालाई कार्तिक कृष्णपक्षको अन्तिम पाँच दिन तीनै लोकको राज्य माग गर्न पाएस् भनी वरदार दिएको र अन्तिम पाँच दिन बली राजाले आफ्नो राज्यभरि दीपावली गरेको कथासँग जोडिएको छ ।