इतिहास बोकेर चिहाइरहेछ झुरझुरे सहिद पार्क

मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा सहिद पार्क निर्माणका लागी तत्कालिन जनयुद्धका नेतृत्वकर्ता एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २ माघ २०७५ मा शिलान्यास गरे । जनयुद्धको इतिहास बोकेको यो पार्कलाई स्थानीय सरकारले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सपना देखेको छ । तर आर्थिक लगानी नजुट्दा पार्क व्यवस्थित हुन सकेको छैन ।

तत्कालिन नेकपा माओवादी र तत्कालिन सरकारी सुरक्षकर्मीबिच भएको भिडन्त स्थलमा सहिद पार्क निर्माण गरी ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य भए पनि बजेटको अभावमा थोरै मात्रै काम भएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान ‘मधु’ बताउँछन् । बागमती गाउँपालिकाको झुरझुरे बजारबाट ५ मिनेट सिँढी चढेपछि पुगिन्छ झुरझुरे सहिद पार्क ।

जनयुद्धमा भएको घटनाको अध्ययन क्षेत्रको रुपमा विकास गर्न सकेमा पर्यटकीय स्थलको दरिलो संभावना समेत बोकेको यो क्षेत्रलाई ऐतिहासिक पर्यटकीय पार्क बनाउन गाउँपालिकाले २०७५ सालमा २० लाख रुपैया विनियोजन गरी सिढी निर्माण पार्कको प्रारम्भिक खाका निर्माण ग-यो । त्यसपछिको धेरै काम बाँकी रहेको अध्यक्ष घलान् बताउँछन् ।

सशस्त्र द्वन्द्वको समयमा २०६२ साल माघ ८ गते राती भएको भिडन्तका क्रममा स्थानीय मानबहादुर बज्यु र प्रताप बज्यु, २८ माओवादी नेता कार्यकर्ता र सुरक्षाकर्मी गरी ठूलो संख्यामा ज्यानमा गएको थियो । यही स्थानलाई पर्यटकीय क्षेत्रको रुपम विकास गर्न सहिद स्तम्भ, भ्युटावर, पिकनिक स्थल, पैदल मार्गसहितको पार्क निर्माणका कम गर्ने योजना तय भएका छन् । पार्कबाट देखिने मनरम झुरझुरे बजार पर्यटकको लागि आकर्षक छ । तर पार्क भित्र बनेका संरचना भने दीगो हुन सकेको छैन ।

“हिउँदा बाटो बनायो वर्षाको झरीले बगाएर उस्तै पार्क, बजेटको राम्रो सदुपयोग भएको देखिदैन” स्थानीय दीपक वाइबाले भने “स्थानीय, प्रदेश र संघीय सरकारले चासो दिने हो भने यो ऐतिहासिक पर्यटकीय गन्तव्य बन्न सक्छ, चासो नै पुगेन ।”

हर घटनाको आ आफ्नै महत्व हुन्छ, आफ्नै इतिहास । सशस्त्र द्वन्द्वको समयमा ३५ जनाको हत्या भएको फारपबारी युद्ध स्थल भनेर समेत चिनिने यो पार्कलाई आकर्षक पर्यटकीय स्थालको रुपमा विकास गर्न आगामी बजेटमा व्यवस्था गर्न संघीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष घनाले बताए ।

“संघीय सरकारको पर्यटन मन्त्रालयसँग १० करोड मागेका छौ, जति बजेट आउँछ, हरेक वर्ष केही न केही थप्दै जाने तयारी छ” उनले भने । हालसम्म यो पार्कमा ८३ लाख रुपैया लगानी भइसकेको गाउँपालिकाको रेकर्डमा देखिन्छ ।

यस्तो छ इतिहास
मकवानपुरको तत्कालिन फापरबारी गाउँ विकास समिति वडा न १ मा शसस्त्र माओवादी र नेपाली सेनाबीचको भिडन्तमा परेर ३५ जनाले ज्यान गुमाएका थिए । उक्त दिनको स्मरण गर्दै अहिले पनि माघ ८ गते यहाँ ‘उत्सव’को रुपमा लिने गरिएको छ ।

वि.स २०६२ पौष १८ गते युद्ध विराम भंग भएपछि राज्यपक्ष र माओवादीपक्षबीचमा युद्ध झर्नै चर्किदै आएको थियो । एकअर्कालाई विरोधि शक्तिको रुपमा ब्याख्या गर्दै अघि बढेको कारण शान्तिपूर्ण बहस र छलछफलको वातावरण बन्न नसकेकै कारण ३५ जनाले ज्यान गुमाउनु परेको थियो । जुन घटना २०६२ माघ ८ गते भएको थियो ।

घटनापछि मानवअधिकार सन्धि अनुगमन समन्वय समिति (सचिवालयः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्थलगत अनुगमन र अनुसन्धान गरेको थियो । उक्त अनुगमनपछि प्रकाशित रिपोर्ट अनुसार उक्त भिडन्तमा परेर ५ सैनिक र १ प्रहरी गरी ६ जना सुरक्षाकर्मी, २६ जना माओवादी र ३ जना सर्वसाधारणको ज्यान गएको थियो । माओवादीका २४ पुरुष र २ महिला तथा सर्वसाधारणमध्ये १ जना बृद्ध र ४ वर्षको एकबालक को ज्यान गएको थियो ।

मानवअधिकार सन्धि अनुगमन समन्वय समितिको संयोजकत्वमा सात सदस्यीय अनुगमन टोली २०६२ माघ १२ गते घटनास्थलतर्फ प्रस्थान गरेको थियो । टोलीले चार दिनसम्मको अनुगमन अवधिमा घटनास्थलको अध्ययन, विवरण संकलन गरेको थियो । साथै अध्ययनको क्रममा टोलीले प्रत्यक्षदर्शी, स्थानीय वासिन्दा, पीडितको परिवार, आफन्त, युद्धका दुबै पक्षका आधिकारिक व्याक्तिहरू, सुरक्षानिकाय तथा स्थानीय प्रशासन स“ग समेत घटनाको सम्बन्धमा छलफल गरी जानकारी संकलन गरेको प्रतिवेदनमा उल्लेछ छ ।

झुरझुरेमा २०६२ माघ ८ गते बेलुकी करीव ६ बजे देखि बिहान २ बजेसम्म भिडन्त भएको थियो । जसमा शाही नेपाली सेनाबाट हवाई आक्रमण समेत भएको थियो । मूख्य भिडन्तस्थलभन्दा ४ किलोमिटर टाढा फापरबारी– १ लम्कनामा सुरक्षाकर्मीले हेलिकप्टरबाट प्रहार गरेको वमको छर्राले ४ वर्षीय बालकको मृत्यु भएको थियो भने युद्धको मुख्य स्थल झुरझुरेमा दुई सर्वसाधारणको मृत्यु हुनुको साथै दुई घर र एक गोठ जलेर नष्ट भएको थियो ।

घटनास्थल मकवानपुर जिल्ला फापरबारी गाविस वडा नं. १ लम्कना भन्ने ठाउँमा पर्दछ । यो जिल्ला सदरमुकामबाट करिब ५६ कि.मी., फापरबारी गाविस वडा नं. ५ फापरबारी बजारबाट करिब ९ किलोमिटर र राज्य पक्ष र तत्कालिन विद्रोही पक्षबीच भिडन्त भएको मुख्यस्थल फापरबारी झुरझुरेबाट करिब ४ कि.मी. उत्तर पूर्वमा पर्दछ ।

समय बितिरह्यो बनेन् पार्क
माओवादी जनयुद्धका क्रममा मकवानपुरको तत्कालिन फापरबारी गाविस (हाल बागमती गाउँपालिका) को झुरझुरे घटनाको १९ वर्ष लागेको छ । यसै दिनको अवसरमा नेकपा माओवादी केन्द्र माघ ८ गते उत्सव मनाउनु बाहेक अन्य समयमा खासै चहलचहल यहाँ छैन ।

शान्ति सम्झौतापछि सो क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारले निर्वाचन जितेका थिए । वि.स २०७४ र २०७९ को स्थानीय तह निर्वाचनले पनि बागमती गाउँपालिकाको नेतृत्व पूर्व लडाकुको हातमा सुम्पेको छ । २ पटक बागमती गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित माओवादी केन्द्रका नेता सर्केश घलानका अनुसार उक्त घटना भएको स्थान झुरझुरेलाई युद्ध पार्कको रूपमा विकास गर्ने कार्ययोजना बनाइएको छ । पार्कलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयहरुबीच सहकार्य भएको अध्यक्ष घलान बताउँछन् ।

गतवर्ष पनि ६३ लाख बजेटको संरचना निर्माण गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत झम्क घलान बताउँछन् । “केही संरचना बनेका छन्, केही डिपीआर बनाउनको खर्च भयो, अब प्रदेश र संघीय सरकारले सहयोग गरेमा यहाँ ऐतिहासिक पर्यटकीय गन्तव्य एकदमै राम्रो बन्ने छ” घलानले भने ।

मकवानपुरको हेटौंडाको सहिद स्मारक, तपोवन, त्रिवेणी धाम, सुरुङमार्ग, मुर्ति पार्कलगायतको क्षेत्र घुमेर बागमती गाउँपालिकाको यो पार्क अवलोकन गरी सिन्धुली पुग्न सकिन्छ । सिन्धुली जिल्लाको सिमाना नजिकै रहेको झुरझुरे पार्क घुमेर वासस्थानको लागि झुरझुरे बजार पनि व्यवस्थित छ । यहाँबाट केही घण्टाको दुरीमा सिन्धुलीको सिन्धुली गढी दरबार अवलोकनमा जान सकिन्छ ।

The post इतिहास बोकेर चिहाइरहेछ झुरझुरे सहिद पार्क appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95492/