एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशन लोगो र नारा सार्वजनिक

नेकपा एमाले सर्लाहीले आसन्न नवौं जिल्ला अधिवेशनको लोगो र नारा मंगलबार सार्वजनिक गरेको छ । एमालेले बिहान नवलपुरमा पत्रकार सम्मेलन गरी ४ दिनपछि सदरमुकाम मलंगवामा हुन लागेको जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ ।

अधिवेशनको लोगोमा राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राखेर जिल्लाको मुख्य आकर्षण र महत्वपूर्ण प्राकृतिक ताल नाढीमन तालको पुनः उत्थान गरि नुपर्ने सन्देश दिइएको छ । त्यस्तै मधेशको शिर मानिने जिल्लाको उत्तरी चुरेक्षेत्रको संरक्षण, जिल्लाको मुख्य उत्पादन उखु र गोलभेँडाको महत्व लोगोमा झल्काइएको लोगो तथा नारा तयारी उपसमितिका संयोजक चूडामणि वाग्लेले बताए ।

त्यसैगरी अधिवेशनको नारा “जवजको मुल मार्ग : समृद्धिको यात्रा, सीमादेखि चुरेसम्म एमालेको झण्डा ! ” भन्ने तय गरिएको छ । यो नाराले जनताको बहुदलीय जनवादको मुख्य बाटोमा सर्लाहीको समृद्धि, विकास र हित प्रवद्र्धन भएको र नेकपा एमालेको प्रभाव सीमा क्षेत्रदेखि उत्तरी चुरेसम्म उस्तै उर्वर रहेको सन्देश दिने एमाले सर्लाहीले दावी गरेको छ ।

एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले आफूहरु जिल्ला अधिवेशनलाई भव्य बनाउन लागि परेको बताए । एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशन यही वैशाख ३० गते सदरमुकाम मलंगवामा सुरु हुँदैछ । अधिवेशनको मलंगवास्थित विश्वकर्मा चोकमा रहेको गोखुलराम साहको दुई बिघाको आँप बगैँचामा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तीव्र तयारी भइरहेको जिल्ला अध्यक्ष साहले बताए ।

अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बैशाख ३१ गते मलंगवास्थित कुसुम पार्टी प्यालेसमा बन्द सत्र सुरु हुनेछ । जेठ १ गते दिनभर सर्वसम्मतिको प्रयास गरिने र सहमति जुट्न नसके जेठ २ गते मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने पत्रकार सम्मेलनमा बताइएको छ ।

जिल्ला अधिवेशनमा आयोजक कमिटीका १ सय ४९ जना, जनसंगठनबाट ७४ जना, वडाबाट चयन भएर आएका ३ सय ८७ जना गरी ६ सय १० जना र आयोजक कमिटीले मनोनित गर्ने ५ प्रतिसत मनोनित ३१ जना प्रतिनिधि समेत गरी जम्मा ६ सय ४२ जना प्रतिनिधिले बन्द सत्र र निर्वाचन प्रक्रियामा भाग लिने छन् ।

अधिवेशनलाई सफल पार्न विभिन्न समिति, उपसमिति र कार्यदल गठन गरी तयारीको काम भइरहेको आर्थिक समितिका संयोजक एवं एमाले नेता रेवती पन्तले बताए ।

The post एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशन लोगो र नारा सार्वजनिक appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/05/08/93000/