कातिक नाचको माध्यमबाट संस्कृति बुझ्दै युवा पुस्ता
१६ वर्षको उमेर छँदा पहिलोपटक कातिक नाचमा देवगणको भूमिका निर्वाह गरेका ६० वर्षीय उत्तमरत्न शाक्यले अहिलेसम्म सयौं युवालाई नृत्य सिकाइसकेका छन्। शाक्यबाटै प्रशिक्षण लिएका सयभन्दा बढी युवा विगतझै यसपटकको कातिक नाचमा पनि विभिन्न देवगणको भूमिका निर्वाह गर्दै छन्।
कातिक नाच मल्लकालीन नाट्य परम्पराको स्वर्णयुगको प्रतीक हो। ३८४ वर्षदेखि यो नाच निरन्तर सञ्चालन हँुदै आएको छ। यस वर्ष यही कातिक २१ गते बुधबारदेखि कातिक ३० गते शुक्रबारसम्म पाटन दरबार क्षेत्रको कातिक डबलीमा कातिक नाच देखाइनेछ। यस अवधिमा बालक, किशोर र युवाहरू गरी करिब एक सय २० जनाले विभिन्न देवगणको भूमिका निर्वाह गर्ने कातिक नाच संरक्षण समितिले जनाएको छ। कातिक नाचमा प्रवेश गरेदेखि हालसम्म मुख्य प्रशिक्षक रूपमा गरी ४४ वर्षदेखि निरन्तर सक्रिय रहेका शाक्य भन्छन् –‘यस नाचको रौनक र माहोलले विशेषतः बालबालिकाको मन मस्तिष्कमा छोएको छ। त्यससँगै संस्कृति र मौलिक परम्परा संरक्षणको चेत पनि बढ्दै गएको छ।’
ललितपुर वडा नं २० निवासी सुप्रिन्स शाक्यलाई सोही भनाइको एक प्रत्यक्ष उदाहरणका रूपमा लिन सकिन्छ। १० वर्षको उमेरदेखि देवगण बनेर नाच्दै आएका सुप्रिन्स शाक्य अहिले २० वर्षका भएका छन्। शुरूमा उनले इन्द्रगणअन्तर्गत इन्द्रको छोरा जयन्त बनेर नाचेका थिए। नाचमा ससाना पात्रको भूमिका निर्वाह गर्दै पछि भैरव बनेका शाक्य हाल महादेवको भूमिका निर्वाह गर्दैछन्। उनी भन्छन्, ‘मैले उत्तमरत्न शाक्य ‘गुरुबा’बाट जसरी नाच सिके, त्यसरी नै अरूलाई पनि नाचमा सहभागी गराउन उत्प्रेरित गर्दै आएको छु। यसका साथै व्यवस्थापनमा सहयोगी भएर काम गरिरहेको छु।’ शाक्यमात्र नभई अधिकांश देवगण १०÷१२ वर्षकै उमेरदेखि यसमा लागेका थिए। अहिले आउनेहरू पनि १० देखि १५ वर्षका बढी संख्यामा रहको समितिका प्रचारप्रसार संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताए।
देवगण बन्न बालक र किशोरबीच प्रतिस्पर्धा हुने गरेको छ। यसले गर्दा नाच सिकेको वर्षमै अधिकांशले देवगण बनेर नाच्न पाउँदैन। उनीहरू नाच अवधिभर स्वयंसेवक बनेर खटिने गरेका छन्। नाचमा एक-दुई पटक देवगणको भूमिका निर्वाह गरिसकेका किशोर र युवा रोजगारी र पढाइका क्रममा विदेश जाने क्रम पनि निरन्तर रहेको जानकारी दिँदै समितिका अध्यक्ष किरण चित्रकार भन्छन्, ‘नाच सिक्न आउने युवाको संख्या पनि सोही अनुपातमा रहेको छ। यसले गर्दा नाचमा युवाहरूको अभाव भएको छैन।’ १० देखि १६ वर्षसम्मकाहरूको विविध भूमिकामा उल्लेख्य सहभागिताले गर्दा कातिक नाच र यसको माहौल उनीहरूको सामाजीकरणको एउटा छुट्टै क्षेत्र बन्न पुगेको छ। यसले गर्दा तिनीहरूका लागि कातिक नाच धार्मिक, सांस्कृतिक कुरा सिक्ने, त्यसबारे साथीसँग कुरा गर्ने र बुझ्न माध्यम पनि बन्न पुगेको छ।
के हो कातिक नाच ?
राजा सिद्धिनरसिंह मल्लले नेपाल संवत् ७५० देखि ७५७ को अवधिमा अद्वितीय कलात्मक कृष्ण मन्दिरको निर्माण गरेको अवसरमा यो नाच चलाएको मानिन्छ। नाट्यचार्य हरिवंश राजोपाध्यायको रचना र निर्देशनमा कृष्णचरित्र प्रधान कातिक नाच पाँच दिन देखाउने परम्पराको सुुरुआत भएको भनिए पनि कतिले भने यो नाच एक सातासम्म चल्ने गरेको पनि भन्ने गरेका छन्। यसमा सुरदास, सुदमाया लोकनाटक, वराह अवतार, नरसिंह अवतारको नृत्य प्रधान भाव नाटक र दधिलिला देखाइन्थ्यो। त्यसपछि राजा सिद्धिनरसिंहको छोरा श्रीनिवास मल्लले बाथः प्यांख (लोकनाटक) देखाएर १५ दिनसम्म नाच देखाउने परम्परा बसालेको बताइन्छ। त्यसपछि श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले तिहारको लक्ष्मीपूजा, म्हःपूजा र भाइटीकको तीन दिनबाहेक एक महिनाभरि यो नाच देखाउने परम्परा चलाएको र यो परम्पराले २००७ सालसम्म निरन्तरता पाएको जानकारको भनाइ छ। एक महिनासम्म चल्ने यस नाचमा उषाहरण, माधवानको ब्राहम्णको चरित्र नाटकलगायत समावेश छन्।
नेपाल भाषामा यस नाचलाई कात्ति प्याखं भनिन्छ। प्याखं शब्दले गीत, नृत्य र नाटक तीनवटै विधा समेट्ने गर्छ। यसमा तीन विधा छन्। परम्परागत बाजाको आवाजको पृष्ठभूमिमा यो नाच शुरू हुने गर्दछ। नाचको पहिलो दिन भक्तसुरदास प्याखं देखाइन्छ। दोस्रो, तेस्रो र चौथो दिन लगातार लोक कथा र पञ्चतन्त्रमा आधारित चरित्रप्रधान नाटक देखाइन्छ। नाटक (बाथः प्याखं) अन्तर्गत पहिलो दिन बिहीबार च्वलेचा खुदाँ दाँ खुदाँ देखाउनेछ। दोस्रो दिन कौला खिचा र तेस्रो दिन महामूर्ख देखाइनेछ।
नाटक मल्लकालीन परिवेशलाई आधार बनाइ प्रस्तुत गरिन्छ। नाटकले अशिक्षित भएपछि समाजमा टाठाबाठाले कसरी ठग्छन्, मानिस आप्mनो स्वहितले मात्र परिचालन हुन्छन्, आफ्नो स्वार्थका लागि मानिसले कति हदसम्म कुतर्क गर्छन् भन्ने देखाइएको छ। समग्रमा नाटकले मानवीय स्वभावप्रतिको विभिन्न दृष्टिकोणलाई एकसाथ उजागर गर्ने गरेको छ। यस नृत्य÷नाटकले तत्कालीन समयको समाजमा विद्यमान रहेको सामाजिक, आर्थिक, सांस्कृतिक, नैतिक तथा राजनैतिक एवं धार्मिक आस्था आदि सबै क्षेत्रको चित्रण गरेको पाइन्छ। यसरी यस बाथः प्याखंमा बढी हास्यव्य· र नैतिक सन्देशले भरिएको छ। सम्भवतः यो नाच नेपाली इतिहासको स्वर्णकालका रूपमा चिनिने मल्लकालको नेपाली कला,संस्कृति र परम्पराको जीवन्त तस्वीर रहेको संस्कृतिविद्को कथन रहेको छ।
त्यसैगरी, कातिक २५ गते आइतबार युद्धकलाअन्र्तगत शास्त्रीय नृत्य शीतज्वर, विषमज्वर, देवी नाच जलशयण, वराह अवतारलगायत नाच देखाइनेछ। कातिक २६ गते द्यौला, कवं, ख्याः भैरव, कुमारी र महालक्ष्मी नाच, २७ गते मंगलबार जलशयन(मधुकैटव वद्य), २८ गते बराह अवतार, २९ गते नरसिहं अवतार देखाइने गरिन्छ। यो नाच सबैभन्दा बढी आकर्षक रहेको छ। यसमा हिरण्यकश्यपु वध (नरसिंह अवतार) गणनृत्यमा नृत्य गर्दागर्दै दैत्यको मृत्यु हुने गर्दछ। बेहोस भएका दैत्य (हिरण्यकश्यप) लाई लाससरह परालमा सुताइ शिक्षा गुरुले मन्त्र पढी बिउभ्mयाउने अलौकिक परम्परा छ।