कोशीका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं– एमाले कोशी प्रदेशका सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। मानव बेचबिखन तथा ओसार पसारको कसुरमा पक्राउ परेका अधिकारीसहित ९ जनालाई हिरासतमा राख्न अदालतले म्याद थप गरेको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ९ जना प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि कात्तिक २७ गते अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
एमाले नेता अधिकारी मानव तस्करीको आरोपमा गत कार्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनलाई जहाजमार्फत काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
अदालतले दिएको समय सकिएसँगै आज उनलाई पुनः उपस्थित गराइएको हो । अधिकारीलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिन माग गरिएपनि अदालतले ७ दिनको लागिमात्रै अनुमति दिएको हो ।
जापानमा आयोजित एक कार्यक्रम जान तत्कालीन मन्त्री अधिकारीले मन्त्रालयसँग असम्बन्धित मान्छेलाई लिएर गएको खुल्न आएको थियो । जापानको अध्यागमन विभागले मन्त्री अधिकारीसँग गएका तीन जनासहित उनलाई पनि डिपोर्ट गरेपछि सो घटना बाहिरिएको थियो ।
सो घटनामा मन्त्री अधिकारीसँग जापान गएका तीन जनासहित ६ जनालाई मन्त्रीले सोही समय पक्राउ गरेको थियो । मन्त्री अधिकारीलाई अनुसन्धानको दायरा बाहिर राखिएको भन्दै आलोचना भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । तत्कालीन मन्त्री अधिकारीसँग जापान गएकाहरुले आफूहरुले जनही १० देखि १३ लाख रुपैयाँसम्म बुझाएर गएको बयान दिएको प्रहरी स्रोतको दाबी छ ।