खजुरे ब्रोको ट्रेलरमा सहकारी घोटाला कथा

काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’ यही २८ बैशाखबाट देशव्यापी रिलिज हुने भएको छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा आईतबार खजुरे ब्रोको ट्रेलर काठमाडौंको सिडिसी सिनेमामा सार्वजनिक गरियो ।

यो चलचित्रमा खजुरे ब्रोमा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रलाई निर्देशन सुरज सुनुवारले गरेका हुन् ।

चलचित्रको मुख्य कलाकारलाई यसको ट्रेलरमा समेटिएको छ । ३ मिनट २० सेकेन्डको यो ट्रेलरमा पैसाको लागि खजुरे ब्रो र उनका साथीहरुले सहकारी डुबाएर भागेपछि निम्तिएको समस्यालाई सँक्षिप्त रुपमा उतारिएको छ । मुलुकमा सहकारी घोटालाको घटना निकै बढेकाले यसलाई चलचित्रको कथामा ल्याईएको निर्माण पक्षको कथन छ । यो चलचित्र हास्यप्रधान बनेको छ । धरानमा केही वर्ष अघिसम्म निकै चर्चामा रहेका खजुरे ब्रोको जीवनको कथाहरु लिएर यो चलचित्र निर्माण गरिएको आयोजक पक्षको कथन छ ।

चलचित्रमा अभिनेत्री नीति शाहले खजुरे ब्रो बनेका रियर राईको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन । उनको यो डेब्यु चलचित्र हो । यस अघि मनी मनी….गीत र टिजर सार्वजनिक गरेको निर्माण पक्षले यतिबेला ट्रेलरलाई बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरेका हुन् ।

चलचित्र खजुरे ब्रोमा शिशिर विशंखेको छायाँकन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन् । यस्तै चलचित्रमा अनमोल गुरुङको संगीत रहेको छ । यो चलचित्रलाई रोहित तथा रत्नको आरआर फिल्मसले वितरण गर्दैछ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको यो चलचित्रका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेका छन् ।

The post खजुरे ब्रोको ट्रेलरमा सहकारी घोटाला कथा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95302/