खुर्कोटको पुल निर्माणमा सेनाको सक्रियता

सिन्धुली, खुर्कोट।

असोज ११ र १२ गतेको अविरल बर्षाले क्षतिग्रस्त खुर्कोटको पुलमा बढीमा १० दिन भित्र एमपिवि (मोडुलर प्यानल ब्रिज) जोडेर यातायात सुचारु गरिने नेपाली सेनाले जनाएको छ ।

बर्षाले पुल क्षतिग्रस्त बनाएपछि सरकारले उक्त पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँको प्राविधिक टोलीले अहिले पुल निर्माणको काम गरिरहेको छ ।

बुधवारबाट एमपिवि जडानको काम सुुरु भएको र बढीमा १० दिन भित्र काम सम्पन्न गरी यातायात सुचारु गरिने नेपाली सेनाको चौध बाहिनी अड्डाले जनाएको छ । तामाकोशी– मन्थली– खुर्कोट सडक अन्र्तगत एडिविको सहयोगमा निर्माण भएको खुर्कोट पुलको आधाभागमा बर्षापछिको बाढीले क्षति गरेको थियो ।

तीन सय ६० फिट लम्बाईको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको र सोहि ठाँउमा एमपिवि जडानको काम भै रहेको पुल निर्माणको नेतृत्व गरिरहेको नेपाली सेनाको चौध बाहिनी अड्डाका कर्नेल नारायण तुम्बाहाम्फेले बताए ।

पुल निर्माणको लागि पहिलो चरणमा नोज कन्ट्रक्सनको काम सकेर बुधवारबाट ब्रिज कन्ट्रक्सनको काम सुरु भएको र सकेसम्म चाँडै काम सकेर यातायात सुचारु गरिने पुल निर्माणमा प्राविधिक कामको नेतृत्व गरेका नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईले बताए ।

बाढीले बनेपा– बर्दिवास वीपी राजमार्ग र खुर्कोटको पुलमा क्षतिगरेपछि दोलखा, रामेछाप, ओखलढुुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकका स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

अहिले यी क्षेत्रमा चल्ने सवारीसाधनहरु काठमाडौँबाट सिन्धुपाल्चोकको खाडिचौर, दोलखा सदरमुकाम चरिकोट, जिरी र रामेछापको मन्थली, मुगिटार, सित्खा हुँदै सिन्धुलीको मुलकोटबाट खुर्कोट निस्कीएर गन्तव्य तर्फ जाने गरेका छन् । बैकल्पीक सडक प्रयोग गर्दा कतिपय ठाँउमा कच्ची र पहिरोको जोखिम समेत भएकोले दशैको यात्रा असुरक्षित बनेको यात्रुहरुको गुनासो छ ।

नेपाली सेनाले खुुर्कोटको पुल निर्माणको काम द्रुत गतिमा गरिरहेकोले चाँडै यातायात सुुचारु हुने देखिएको दोलखा मेलुुङ गाँउपालिका अध्यक्ष हिराकुमार थोकरले बताए । सरकारले वीपी राजमार्गको काम समेत चाँडै सकेर यातायात सहज गर्नुपर्ने थोकर बताउँछन् ।

खुर्कोटको पुल निर्माणको लागि नेपाली सेनाले प्राविधिक काम गरिरहेको छ भने सडक विभागले सामान उपलब्ध गराउने लगायतका काम गरिरहेको छ । खुर्कोटको पुल निर्माणको लागि एमपिवि डिभिजन सडक कार्यालय हेटौडाले उपलब्ध गराएको र सडक डिभिजन कार्यालय खाल्टेले जनशक्ति र प्राविधिक बाहिकको काममा नेपाली सेनालाई सहयोग गरेको इन्जिनियर प्रदिप तमाङले बताए ।

दोलखा र रामेछपको सिमानामा रहेको किर्नेटारमा समेत झण्डै ८ सय मिटर सडक बाढीले बगाएकोले बैकल्पिक रुपमा खिम्ति जलविद्युत आयोजना स्थलबाट सडक खुलाईएको छ । बाढीले क्षेतिग्रस्त सडक निर्माणको लागि दशै लगतै सरकारसंग बजेट माग गरिने डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर भरत श्रेष्ठले बताए ।

तस्विरहरुः खुर्कोटको पुल निर्माणमा सक्रिय नेपाली सेना, बाढीले क्षतिग्रस्त मुलकोट लगायत ।

Source : https://newsofnepal.com/2024/10/10/672957/