गण्डकीका मुख्यमन्त्रीले लिएको विश्वासको मत बदरको माग राख्दै कांग्रेस सर्वोच्चमा

काठमाडौं । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले लिएकाे विश्वासकाे मतविरूद्ध नेपाली कांग्रेससले सर्वोच्च अदालतमा रिट दिएको छ।

अधिकारीले ३० सांसदकाे समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणा कानुनतः गलत रहेकाे जिकिर गर्दै कांग्रेस अदालत गएकाे हाे। कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी गरिएको घोषणा बदर गर्न रिटमा माग गरिएकाे छन्।
गण्डकी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशकाे माग पनि गरेका छन्।

गण्डकी प्रदेशसभा ६० सदस्यीय रहेकाे छ। जसअनुसार विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिन्थ्याे। गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत परेकाे थियाे।त्यसपछि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए।

सभामुखले असंवैधानिक घोषणा गरेकाले त्यसविरुद्ध पनि सर्वोच्चमा रिट दिएको बताइएकाे छ।

 

The post गण्डकीका मुख्यमन्त्रीले लिएको विश्वासको मत बदरको माग राख्दै कांग्रेस सर्वोच्चमा first appeared on Outline News Service.

Source : https://www.onsnews.com/gandaki-84/?utm_source=rss&utm_medium=rss&utm_campaign=gandaki-84