गर्मीको रोग औलो

औलो गर्मीयाममा लाग्ने रोग हो । यसलाई मलेरिया भनेर अंग्रेजीमा बढी बुझ्न थालिएको छ । पहिलेपहिले तराई तथा भावर र भित्री मधेसमा औलोको बिगबिगी हुन्थ्यो । तर, अहिले औलो छिटफुट रूपमा देखापरिरहेको छ ।

एनोफिलिज जातको मलेरिया संक्रमित पोथी लामखुट्टेले स्वस्थ मान्छेलाई टोकेपछि यो रोग सर्न थाल्छ । यसले संक्रमणको रूप लिन्छ । मलेरिया लाग्नको मुख्य कारण प्लाज्मोडियम नामको परजीवी हो । प्लाज्मोडियम भाइवेक्स, प्लाज्मोडियम मलेरी, प्लाज्मोडिम ओभेल र प्लाज्मोडिम फास्सिपारम गरी चार जातका परजीवीको संक्रमणका कारण यो रोग लाग्छ ।

प्लाज्मोडियम संक्रमित लामखुट्टेको टोकाइले रगतमा प्लाज्मोडियम प्रवेश गर्छ । मलेरिया संक्रमण गराउने लामखुट्टे रातको समयमा सक्रिय हुन्छन् । टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी लाग्ने मलेरिया संक्रमणपछिका संकेत हुन् । प्लाज्मोडियम फाल्सिफारम जातको परजीवीले मानिसको मस्तिष्कमा आक्रमण गर्नसक्ने हुनाले ज्यान पनि जान सक्छ ।

मलेरियाको संक्रमणपछि उच्च ज्वरो आउने, एकदम गर्मी हुने, चिटचिट पसिना आउने र शरीर काप्ने हुन थाल्छ । यस्ता लक्षण दिनदिनै र दिन बिराएर पनि देखापर्छन् । बिरामी गम्भीर अवस्थामा भएमा उच्च ज्वरोले बेहोस हुने र शरीर दुख्ने पनि गर्छ । मलेरिया सबै उमेर समूहका मानिसलाई हुनसक्छ । सरसफाइमा ध्यान दिन नसक्ने बालबालिका, वृद्धवृद्धा, अपांगता भएका मानिस यसको उच्च जोखिममा हुन्छन् । जंगलनजिकै बसोबास गर्ने मानिस पनि बढी नै संक्रमित हुन्छन् । रगतमा संक्रमण गर्ने भएकाले यसले निमोनिया हुने, शरीरमा रगतको कमी गर्ने र कलेजो फेल हुने जोखिम बढाउँछ ।

यसबाट बच्नका लागि घर’round पानी जम्न नदिने, सुत्दा झुल लगाएर सुत्ने, लामखुट्टे धपाउने धुप, मस्क्वीटो लिक्विडको प्रयोग गर्ने गर्नुपर्छ । यसका साथै, घरवरिपरि लामखुट्टे भएमा समयमा लामखुट्टे मार्ने र धपाउने औषधि छर्कनुपर्छ । पूरा शरीर छोप्ने लामालामा बाहुला भएका कपडा लगाउनुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ ।

The post गर्मीको रोग औलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95328/