जनकपुर एयरपोर्ट बिहानैदेखि खुला : बुद्ध एयरको मर्निंग फ्लाइट हुने, काठमाण्डुको भाडा सस्तिया
संघीय राजधानी काठमाण्डु जोड्ने मार्गहरु अवरुद्ध भएको बेला जनकपुरधाम विमानस्थलबाट मर्निंग फ्लाइट सुरु भएको छ ।
जनकपुरधाम विमानस्थल कार्यालयका प्रमुख भिमदत्त पन्तले शुक्रवार बिहान साढे ४ बजेदेखि नै विमानस्थल सञ्चालनमा रहने बताएका छन् । ‘आवश्यकता परेको बेला राति १ बजे पनि विमानस्थलबाट फ्लाइट भएको छ ’ उनले भने, हाल बिहान सबेरैदेखि विमान उडने व्यवस्था मिलाइएको छ । बुद्ध एयरका स्टेशन इञ्चार्ज विजय सिंहले जनाए अनुसार शुक्रवार बिहान ५ बजे देखि नै उडान सुरु हुने छ ।
काठमाण्डुबाट बिहानै २ वटा विमान जनकपुरधामका लागि उड्ने उनले बताए । राजमार्ग अबरुद्ध भएपछि विमानमा यात्रुहरुको चाप अत्यधिक बढेको छ । बुद्ध एयरले जनकपुरधामबाट काठमाण्डु जाने भाडामा भारी छुट दिएको छ । जनकपुरधामबाट काठमाण्डु जाने यात्रुहरुका लागि छुट सहित ३ हजार ५ सय भाडा कायम गरिएको सिंहले बताए । ‘काठमाण्डुबाट जनकपुरधामको हवाइ भाडा सामान्य नै रहेको छ ’ उनले भने, जनकपुरधामबाट काठमाण्डु भएर तेस्रो मुलुक अथवा राजधानी सम्म नै जान चाहने सर्वसधारणलाई दृष्टिगत गरी भाडामा छुट दिएको छ ।
जनकपुरधाम विमानस्थलमा २४ औँ घण्टा नै विमान उड्ने र अवतरण गर्ने सुविधा रहेको बताउँदै पन्तले भने, विपत् को बेला यहाँको विमानस्थलमा यात्रुहरुको भीड देखिएको छ । विमानस्थललाई बिहानदेखि नै राति १२ बजेसम्म सञ्चालनमा राख्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको पन्तले जनाए । ‘विमानको उडान र अवतरण सहज रुपमा भइरहेको छ ’ उनले भने, जनकपुरधामबाट लुक्लाका लागि उडानको परीक्षण पनि सफल भएको छ । ‘रामेछापबाट लुक्लाका लागि उडान कठिन भएको बेला जनकपुरधामबाट उडान भर्न सकिन्छ’ पन्तले भने, लुक्लाका लागि जनकपुरधाम विमानस्थल उपयुक्त विकल्प रहेको छ ।
नेपालको सबैभन्दा डरलाग्दो विमानस्थलको रुपमा लुक्ला रहेको छ । सगरमाथाको बेस क्याम्पसम्म जाने प्रायः विदेशी पर्यटकहरुले लुक्ला जाने गरेका छन् । बिहानदेखि नै विमानस्थल सञ्चालनमा आउने भएपछि बिहीबार साँझ सुरक्षा अधिकारी, विमानस्थल प्रमुख र विमान कम्पनीका प्रतिनिधिहरुको बैठकमा विमानस्थल सञ्चालनबारे सहमति गरेको छ । तारा र समिट एयरलायन्सले जनकपुरधामबाट २७ मिनेटमा लुक्ला पुग्ने गरेको छ ।
रामेछापबाट २० मिनेट हाराहारीमा लाग्ने गरेको छ । जनकपुरधामको धार्मिक र सांस्कृतिक स्थलको भ्रमणप्रति विदेशीहरु उत्साहित देखिएको बताइन्छ । उनीहरुको बासका लागि सुविधा सम्पन्न होटेल रहेका छन् । शुक्रवार तारा एयरले रामेछाप उडान भर्ने बताइएको छ । जनकपुरधाममा भारतीय धार्मिक पर्यटकहरु आइरहेका बेला विदेशी पर्यटकहरु पनि आउने वातावरण मिलेको छ ।
लुक्ला र रामेछापका लागि जनकपुरधाम विमानस्थल सुरक्षित र उपयुक्त रहेकाले टुर्स एण्ड ट्राभल्स कम्पनीहरुले प्राथमिकता दिनुपर्ने जनकपुरधाम उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले बताए । ‘तेस्रो मुलुकका पर्यटकहरुको स्वागत सत्कार र खानपिनका लागि होटेलहरुले दक्ष जनशक्तिको व्यवस्थ ागर्न सक्छन्’ उनले भने, सुविधा सम्पन्न होटेलहरु अहिलेपनि रहेको र केहि निर्माणाधीन पनि रहेका छन् ।
जनकपुरधाम विमानस्थलबाट बुद्ध एयर र यति एयरलायन्सले नियमित रुपमा उडान गर्दै आएका छन् । विगतमा सौर्य र अग्नी एयरलायन्सले पनि उडान भर्ने गरेको थियो । केही वर्ष पूर्वसम्म जनकपुरधामबाट रामेछाप मन्थली विमान सेवा थियो । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलायन्सले उडान बन्द गरेपछि केही समय यति एयरलायन्सको उडान भरेको थियो ।
जनकपुरधामबाट बुद्ध एयरले पोखराका लागि सुरु गरेको उडान लामो समय हुन सकेन । जनकपुरधामबाट भारतको राजधानी नयाँदिल्ली हवाई सेवा सुरु गर्न आवश्यक रहेको बताइन्छ । जउवासंघका अध्यक्ष भण्डारीले जनकपुरधाम आउन चाहने भारतीय पर्यटकहरुका लागि विमान सेवा हुनुपर्नेमा जोड दिए । नयाँ दिल्लीसम्म विमान सेवा भए जनकपुरधाममा आउने पर्यटकहरुको संख्यामा भारी बृद्धि हुने उनको विश्वास छ ।
The post जनकपुर एयरपोर्ट बिहानैदेखि खुला : बुद्ध एयरको मर्निंग फ्लाइट हुने, काठमाण्डुको भाडा सस्तिया appeared first on Janakpur Today.