जनकपुरधाममा सस्ता बजार सुरु

जनकपुरधाममा बिहीबारदेखि गोपाल धर्मशालामा सस्ता बजार सुरु भएको छ ।

मुख्यमन्त्री सतीशकुमार सिंहले विधिवत रुपमा सात दिनसम्म चल्ने सस्ता बजारको उद्घाटन गर्दै जनकपुरधामको विकासका लागि जनकपुरधाम प्राधिकरण गठन गरिने बताएका छन् । । उनले जनकपुरधामका व्यवस्थित विकासका लागि प्राधिकरण गठन आवश्यक रहेको बताए ।

जनकपुरधामको विकास गरेर मात्र प्रचारप्रसार गरी मात्रै यहाँको व्यापार प्रवद्र्धन तथा होटेलहरुमा समेत व्यापक सुधार आउन सक्ने उनको भनाइ थियो । जनकपुरधाम धार्मिक नगरी रहेकाले धार्मिक पर्यटकीय नगरीको रुपमा विकास हुने बताउँदै यसका लागि सरोकारवालले पनि आफूमा व्यापक सुधार ल्याउनुपर्ने जरुरी रहेको उनले टिप्पणी गरे ।

मुख्यमन्त्री सिंहले स्वदेशी उद्योगलाई सवल र समक्ष बनाउँदै स्वदेशमा उत्पादन भएको वस्तु तथा सामानलाई विदेशमा निर्यात गर्ने गरी काम गर्न उद्योगी व्यवसायीलाई आग्रहसमेत गरे । निर्धारित समयभन्दा तीन घण्टा ढिला गरी कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गरेका मुख्यमन्त्री सिंहले सस्ता बजारमा सस्तो, भरपर्दो र गुणस्तरीय सामग्री खरिद गरी लाभ उठाउनका लागि ग्राहक वर्गमा आग्रह पनि गरे ।

सो क्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलगायतका वक्ताले सस्ता बजार लागेकोमा व्यवसायी तथा ग्राहक वर्गमा बडा दशैँको शुभकामना समेत दिए ।

The post जनकपुरधाममा सस्ता बजार सुरु appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/04/99453/