जनकपुरधाममा हनुमान जयन्ती धुमधामका साथ मनाइयो

यमपञ्चक दोश्रो दिन जनकपुरधाममा विभिन्न कार्यक्रम गरी हनुमान जयन्ती मनाइएको छ । हनुमान जयन्तीको अवसरमा अन्य वर्ष झैँ साधु सन्त तथा भक्तजनले भगवान हनुमानको पूजा अराधना गरी हनुमान जयन्ती मनाएका छन् ।

हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदले जनकपुरधाम रेल्वे स्टेशनस्थित आफ्नो भवनमा हनुमान चालिसा पाठ, भजन किर्तनसहितका र साधुसन्तहरुलाई भण्डारा लगायतको कार्यक्रमको आयोजना गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ ।

यसअघि परिषदले रेल्वे स्टेशनबाट हनुमान मन्दिरबाट शोभा यात्रा समेत निकालेका थिए । सो शोभा यात्रा जानकी मन्दिर, संकटमोचन लगायतका विभिन्न मठ मन्दिर हुँदै नगर परिक्रमा गरेको थियो ।

परिषदका अध्यक्ष शम्भु साहले हिन्दु धमाबलम्बीहरु पर्व यमपञ्चकका बिच हनुमान जयन्ती पर्ने भएकाले ओझेलमा परिरहेको समयमा आफूहरु भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउंदै आएको बताए । उनका अनुसार विगत १४ वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आईरहेको छ । परिषदसँगै स्टेशनस्थित हनुमान मन्दिरमा समेत पूजापाठ, भजन, किर्तन कार्यक्रमको आयोजना गरिएको छ ।

मिथिलाञ्चलको प्रत्येक घर घरमा हनुमान जयन्ती दिपावलीको पूर्व सन्ध्यामा मनाइदै आएको छ । भगवान हनुमानको पूजा अर्चना एवं मन्त्र स्तोत्र पाठ गर्नाले शुभ फल मिल्ने, माता लक्ष्मीको कृपा बन्ने शनिग्रहको दोष नलाग्ने देखी भुतप्रेत पिसाचबाट मुक्ति मिल्ने गरेको छ । हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने र पती पत्नी बीचको कलह समेत हट्ने उनको भनाई छ ।

चैत्र शुक्ल पूर्णिमालाई पनि हनुमान जयन्तीको रुपमा व्याख्या गरिएपनि कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथीलाई हनुमान जयन्तीकै रुपमा लिइने गरिन्छ । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो ।

The post जनकपुरधाममा हनुमान जयन्ती धुमधामका साथ मनाइयो appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/30/100512/