जसपा नेपाल अदालत जाने, जसपामा मन्त्रीका लागि खिँचातानी

जनता समाजवादी पार्टी(जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा जाने बताएका छन् ।

अमेरिका भ्रमणबाट सोमबार राति १ बजे स्वदेश फर्केका अध्यक्ष यादवले मंगलबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सित पार्टी विभाजनबारे छलफल गरेका छन् ।

विभाजित भएर बनेको जसपालाई सरकारमा थप अवसर नदिन अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको उच्चस्रोतले जनाएका छन् । प्रमुख सत्तासाझेदार दललाई विभाजन गर्न राज्य परिचालन हुनु दूर्भाग्यपूर्ण रहेको उनले प्रधानमन्त्री प्रचण्डलाई बताएको स्रोतले जनाएका छन् ।

राजधानीमा उपलब्ध पार्टीका नेताहरुसितको छलफल पछि जसपा नेपालका अध्यक्ष यादवले गठबन्धन नछाड्ने र सरकारमा पनि रही रहने जनाएका छन् । उनले सरकारबाट हट्नु पर्ने कुनै कारण नभएको बताएका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी फुटाएको आक्रोश यादवमा रहे पनि सार्वजनिक रुपमा व्यक्त गरेका छैनन् ।

पार्टी कार्यालयमा भएको अनौपचारिक बैठकमा अन्य नेताहरुले आक्रोश व्यक्त गरेपनि अध्यक्ष यादव शान्त रहेको एकजना नेताले जनाए । सरकारबाट बाहिरिदा जसपालाई अवसर मिल्ने भएकाले अध्यक्ष यादव तत्काल सरकारबाट नबाहिरिने बताइएको छ । उच्च स्रोतहरुका अनुसार पार्टी विभाजनको नेतृत्व गरेका अशोक राईलाई उपप्रधानमन्त्री बनाइने आश्वासन दिइएको छ । रञ्जु झा, प्रदीप यादव र वीरेन्द्र महतो पनि मन्त्री बन्न हतारमा देखिएका छन् । नवलकिशोर साह पनि उपप्रधानमन्त्रीको आकांक्षी रहेको बताइएको छ । राईले आफूलाई नभए श्रीमती सुशीला श्रेष्ठलाई सरकारमा सहभागी गराउने तयारीमा छन् ।

पार्टी बनेको तेस्रो दिन नै सांसदहरुले मन्त्रीका लागि पहल गर्न फरक फरक ढंगले राई माथि दबाब दिन थालेको स्रोतले जनाएका छन् । स्रोतका अनुसार अध्यक्ष यादवले उनीहरुलाई सरकारमा सहभागी नगराउन प्रधानमन्त्री प्रचण्डलाई दबाबमूलक आग्रह गरिसकेका छन् ।

विभाजित भएका सांसदहरुले प्रचण्ड नेतृत्वको सरकार ढाल्ने षडयन्त्रमा अध्यक्ष यादव लागेकाले गठबन्धन जोगाउन पार्टी विभाजन गरेको बताउँदै आएका छन् । गठबन्धन छाड्ने हल्ला निराधार र सर्वसधारणमा भ्रम फैलाउने दुष्प्रयास गरिएको अध्यक्ष यादवले सफाइ दिइसकेका छन् । अध्यक्ष यादवले बुधवार विहान कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

त्यस लगतै साढे ११ बजे पत्रकार सम्मलेन हुने प्रवक्ता मनिष सुमनले बताए । निर्वाचन आयोगविरुद्धको आगामी निर्णय लगायतको विषयमा पार्टीले धारणा सार्वजनिक गर्ने प्रवक्ता सुमनले बताए ।

पत्रकार सम्मेलनपछि पार्टीको केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ । कार्यकारिणी समितिको निर्णयलाई केन्द्रीय समितिबाट अनुमोदन गराइने बताइएको छ । केन्द्रीय समितिको बैठकबाट पार्टीमा रहेका र बाहिरिएका सदस्यहरुको संख्या यकिन गरी मनोबल उच्च बनाउन अध्यक्ष यादवले प्रयास गर्ने बताइएको छ । संसदीय दल विभाजनसँगै गठन भएको जसपाको प्रभावलाई रोक्न जसपा नेपालले प्रदेश र जिल्ला स्तरमा संगठनका नेताहरुलाई सकृय बनाएको छ ।

मधेश प्रदेश समितिको मंगलबार बैठक सम्पन्न भएको छ । मधेश प्रदेशका सभासदहरु संस्थापन पक्षमा नै रहने दृढता व्यक्त गरेका छन् । उनीहरुले नितान्त व्यक्तीगत स्वार्थका लागि पार्टीबाट अलग्गिएका अशोक राई लगायतका नेताहरुको राजनीतिक भविष्य नै समाप्त भएको टिप्पणी गरेका छन् ।

अशोक राई लगायतले पार्टीलाई विभाजन गरेको दाबी गरे पनि उनीहरुसित कार्यकारिणी र केन्द्रीय समितिका सदस्यहरुको संख्या नगण्य रहेको कार्यकारिणी समितिका सदस्य समेत रहेका पूर्वमन्त्री विजय यादवले बताए । ‘संसदीय दल विभाजन भएको देखिएको छ ’ उनले भने, ‘तर निर्वाचन आयोगले पूर्वाग्रही भएर गैरकानुनी रुपमा हतार हतार मान्यता दिएको हो ।’ पार्टीको आसन्न महाधिवेशन पनि निर्धारित समयमा नै हुने बताउँदै उनले भने, यस सम्बन्धमा कार्यकारिणी समिति र केन्द्रीय समिति बैठकले निर्णय लिने छ ।

यही जेठ २८,२९ र ३० गते जनकपुरधाममा एकताको राष्ट्रिय महाधिवेशनको तयारी चलिरहेको थियो । पार्टी विभाजनपछि महाधिवेशनको तयारी रोकिएको छ । नेताहरु धमाधम काठमाण्डु आउन थालेका छन् ।

The post जसपा नेपाल अदालत जाने, जसपामा मन्त्रीका लागि खिँचातानी appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/05/08/92990/