ज्वाईंसाबमा जम्यो जितु र नितीको जोडी

काठमाडौं ।

दशैंको अवसर पारेर आगामी २४ गते फुलपातिको दिनबाट रिलिज हुने फिल्म ज्वाईंसाब अहिले चर्चामा छ। पिल्मका दुई प्रमुख कलाकार जितु नेपाल र नीति शाहको कमेस्ट्रीलाई लिएर यो फिल्म चर्चामा आएको हो।

फिल्ममा जितु र निती जोडीका रूपमा अनुबन्धित भएपछि उनीहरूको जोडी कस्तो बन्ला भन्ने जिज्ञासा यसको पोस्टर, टिजर र गीत कसम बत्ती रिलिजसँगै पूरा भइसकेको छ। खासगरी हास्य भूमिकाको अभिनयमा दुई दशक लामो सयम बिताएर मुन्द्रेका नाममा चिनिएका जितुलाई यो फिल्मपछि दर्शक र साथीभाइले ज्वाईंसाब भनेर बोलाउन थालेका छन्।

जितु र रजतपटमा नवकलाकारका रूपमा देखा परेकी नितीको क्यामेस्ट्रीलाई कसम बत्तीको सार्वजनिक भएपछि रुचाइएको छ। सामाजिक सञ्जाल टिकटकमा यो गीतको चर्चा व्यापक छ। फिल्म निर्माण समूहले जितु र नितीलाई बेहुला बेहुलीको गेटअपमा प्रस्तुत गर्दा फिल्मले राम्रै चर्चा पाएको छ।

जितुलाई डोलीमा राखेर कलाकारद्वय हिमेश पन्त र बुद्धि तामाङले बोकेको तथा जितुको अगाडि निती बेहुलीको रूपमा उभिएको दृश्यलाई सबैले रुचाएका छन्। सामान्यतयाः विवाहमा बेहुलीलाई डोलीमा चढाइन्छ। तर, फिल्ममा भने बेहुला बनेका जितुलाई डोलीमा चढाइएको छ।

निर्देशक वसन्त निरौलाले नेपाली फिल्ममा देखिइरहने कथाभन्दा ज्वाईंसाबमा फरक कथा रहेको बताए। ‘पोस्टर, टिजर र गीत रिलिजपछि फिल्मले राम्रो हाइप पाएको छ। प्रमुख कलाकार जितु नेपाल र नीति शाहको गेटअपले पनि फिल्मप्रति चासो बढाइदिएको छ,’ वसन्तले भने, ‘दुवै कलाकारले फिल्ममा चरित्रअनुसार न्याय गर्नुभएको छ।

मौसम फिल्म्स्को सहकार्यमा रेड आई फिल्म्स्को ब्यानरमा सौगात पण्डित र पदमलाल तामाङद्वारा निर्मित तथा राजकुमार पण्डितद्वारा प्रस्तुत फिल्ममा जितु र नीतिसँगै रमेश वुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्त, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, कमलमणि नेपाल, प्रकाश घिमिरे, सिपी पौडेल, दीपक अधिकारी, राजकुमार पण्डित, राजेन्द्र नेपाली, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नवीन काफ्ले, शिवु पाण्डेलगायत कलाकारले अभिनय गरेका छन्।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, सञ्जय थापाको द्वन्द्व निर्देशन, श्याम तामाङको छायांकन र सन्देश शाहको सम्पादन रहेको छ।

Source : https://newsofnepal.com/2024/09/22/669190/