तीन जना साफ महिला फुटबल खेलाडीको गृह जिल्लामा सम्मान
उदयपुर ।
नेकपा एमाले जिल्ला कमिटी उदयपुरले तीन जना राष्ट्रिय साफ महिला फुटबल प्रतियोगितामा सहभागी उदयपुरका खेलाडीहरुलाई सम्मान गरेको छ ।
साफ प्रतियोगितामा खेल्ने उदयपुरका तीन खेलाडीलाई नेकपा एमालेले नागरिक अभिनन्दन सहित सम्मान गरेको हो । साफ महिला फुटवल खेलाडीहरु अमिसा कार्की, सविता थापा मगर र हिरामाया भुजेललाई बाजा गाजा सहित सदरमुकाम गाईघाट बजार परिक्रमा सहित अभिनन्दन सम्मान गरिएको एमाले अध्यक्ष भागवत राउतले जानकारी दिनुभयो ।
खेलाडीहरु अमिसा कार्की त्रियुगा नगरपालिका ५, सविता थापा मगर रौतामाई गाउँपालिका ५ र हिरा भुजेल कटारी नगरपालिका ५ का खेलाडी हुन । हिरा भुजेल खेलको क्रममा घाईते भई अस्पतालमा उपचाररत रहेकाले सम्मान कार्यक्रममा अनुपस्थित हुनुहुन्थ्यो भने उहाँको सम्मान भाउजुले ग्रहण गरेकी छिन ।
सम्मानित खेलाडीहरुलाई प्रतिनिधि सभा उदयपुर क्षेत्र नं २ का सांसद अम्बर बहादुर रायमाझी र संविधान सभा सदस्य मन्जु कुमारी चौधरीले राष्टिय झाण्डा ओडाएर सम्मान गर्नु भएको थियो । आफुलाई गृह जिल्लाले सम्मान गरेकोमा खेलाडी हुन पाउँदा आफु निकै खुसीका साथै उत्साहित भएको र आगामी दिनहरुमा अझ उत्कृष्टताका साथ खेलेर जिल्लाको नाम उचो राख्ने खेलाडी अमिसा कार्कीले प्रतिक्रिया दिनु भएको छ ।
उदयपुर निर्वाचन क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य अम्बर बहादुर रायमाझीले खेलाडीलाई देशका गहना लगायतका विभिन्न अलंकारले सम्बोधन गरिने भए पनि उनीहरुको जीवन यापनमा समस्या भएको विषयमा कसैले पनि नबोलेको र सहयोगको भावना नराखेकोमा तीतो पोख्दै देशको नाम उँचो राख्न सफल खेलाडीहरुको सम्मान गरेर मात्र नहुने भएकोले जीवन यापनकोलागि स्थायी बाटो खोजिनु पर्ने र राज्यले यस विषयमा चासो राखेर नीति नियम बनाएर सहयोग तथा जीवन निर्वाहकालागि मासिक रुपमा रकम वा मासिक तलव भत्ता उपलब्ध गराउनु पर्ने बताउनु भयो ।
जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्कीले जिल्लामा ७ जना महिला खेलाडी रहेको र उनीहरु सबै राष्ट्रिय स्तरका खेलाडी भएको जानकारी दिंदै उनीहरुको वृति विकासका विषयमा ध्यान दिनु पर्ने कुरामा जोड दिंदै खेलको समयमा मात्र खेलाडीलाई सम्झने प्रवृतिले जरो गाडेको हुँदा यो प्रवृतिको अन्त्य गरेर खेलाडीहरुलाई बाह्रै महिना प्रोत्साहित हुने खेल खेलाइरहनु पर्ने बताए ।
उदयपुरको गहनाको रुपमा रहेका खेलाडीहरु जीवन यापन गर्न समस्या भएकाले स्थानीय सरकार, प्रदेश सरकार र संघले आवश्यक नीति वनाउनु पर्ने कार्यक्रमका वक्ताहरुले जोड थिएका थिए । सम्मान कार्यक्रममा जिल्ला खेलकुद महासंघका अध्यक्ष सागर नेपाल, नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले कविता वाचन गरेर खेलाडीको सम्मान गर्नु भएको थियो । खेलाडीहरुको सम्मानमा राई जातीको साकेला नाच र मगर जातीको हुर्रा नृत्य प्रस्तुत गरिएको थियो ।
नगरपालिकाद्धारा पनि सम्मान
बिहिबार नै गाईघाटमा त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदर्शन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेशसम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो ।
त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबलको सदस्य हुँदै राष्ट्रिय टिममा पर्न सफल भएकी हुन । हालै सम्पन्न साफ महिला च्याम्पियनशिपमा कार्कीले अन्तिम फाइनल खेल बंगलादेश बिरुद्ध १ सहित ४ गोल गरेकी थिइन । नगद सहित सम्मान पत्र हस्तान्तरण गर्दै त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले अमिशा नगरपालिकाको लागि खेलाडी मात्र नभएर एक तारा भएको बताउनु भयो ।