निर्वाचन आयोगबाट अशोक राई नेतृत्वको जसपाले पायो मान्यता

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भएर अशोक राईको नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले दल दर्ता गरी प्रमाणपत्र दिएको छ । राई नेतृत्वको जसपाले आइतबार दल विभाजन गरी नयाँ दल दर्ता गरेपछि सोमबार आयोगले निर्णय गर्दै दल दर्ता गरी प्रमाणपत्र दिएको हो ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले नयाँ दललाई दर्ता गर्ने निर्णय भएको जानकारी दिए । राईसहित प्रतिनिधिसभाका सात सांसदले दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार नै दलले मान्यता पाएको पाण्डेले बताएका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको उनले जनाएका छन् ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ र प्रचलित संघीय कानुनबमोजिमका प्रावधान पालना गर्ने सर्तमा दल दर्ता गरिएको पाण्डेको भनाइ छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपधारा (२) मा कुनै दलको केन्द्रीय समिति र संघीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउनसक्ने र त्यसो गर्दा साबिकको दलको नियन्त्रण नरहने व्यवस्था छ ।

तर, २०७८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएर केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत मात्र सदस्य भएर पनि दल विभाजन गर्न पाउने व्यवस्था गरेको थियो । एमाले र जसपा फुटेपछि सो अध्यादेश फिर्ता लिइएको थियो । अध्यादेश फिर्ता लिइसकेपछि पुरानै व्यवस्था जगाउने वा नयाँ व्यवस्था प्रतिस्थापन गर्नुपर्ने प्रक्रिया भने पूरा गरिएको छैन ।

जसपाका असन्तुष्ट नेताहरूको बैठकले यादवको मनोमानी कार्यशैलीका विरुद्धमा नयाँ दल गठन गर्ने निर्णय गरेको थियो । असन्तुष्ट समूहका नेता प्रमोद गुप्ताले यादवको मनोमानी कार्यशैली र आफूखुसी चल्ने लगायतका विभिन्न कारणले नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको बताए ।

जसपामा १२ मध्ये ७ जना सांसद राई नेतृत्वको नयाँ दलमा रहेका छन् । नयाँ दलको अध्यक्षमा राईलाई राखिएको छ । सांसद राईसहित बहालवाल संघीय वन तथा वातावरणमन्त्रीसमेत रहेका नवलकिशोर साह रहेका छन् । सांसदहरू वीरेन्द्र महतो, प्रदीप यादव, रञ्जु झा, सुशीला श्रेष्ठ, हसिना खान रहेका छन् ।

जसपा अध्यक्षमा अशोक राई रहेका छन् भने राजेन्द्र श्रेष्ठलाई संघीय परिषद्को अध्यक्षको जिम्मेवारी दिइएको छ । सहअध्यक्षमा रेणुकुमारी यादव, उपाध्यक्षमा नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ रहेका छन् । महासचिवमा मो. इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र कोषाध्यक्षमा डा. वीरेन्द्र यादव रहेका छन् ।

त्यस्तै, केन्द्रीय सदस्यमा आङकाजी शेर्पा, मोहनलाल चौधरी, कृष्णबहादुर घजु, लालबहादुर तामाङ, राधा तिमिल्सिना, सीमा सिंह, कमला विश्वकर्मा, शोभा ब्रजाचार्य, प्रमोद गुप्ता, पारस साह, पञ्चलाल महर्जन, केशव पौडेल, मनिकर कार्की, राजेशमान सिंह, हसिना खान, नानु थामी, हेमन्तराज भण्डारी माण्डव्य, पिंकीदेवी यादवलगायतका छन् ।

यता, जसपा नेपालले दल विभाजनको अवस्था नरहेको दाबी गरेको छ । जसपा नेपालका प्रवक्ता मनीषकुमार सुमनले सोमबार एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले दल विभाजनको अवस्था नरहेको जनाएका छन् । जसपा नेपालले पार्टीबाट विद्रोह गरेर नयाँ दल दर्ताका लागि अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा दर्ता गराएको निवदेनलाई असंवैधानिक भनेको छ ।

प्रवक्ता सुमनले पार्टी विभाजनको मनस्थिति बोकेर आयोग पुगेकाको विषयप्रति गम्भीर नहुन पनि केन्द्रीय सदस्यलगायतलाई आग्रह गरेका छन् । ‘हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलका बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई असंवैधानिक निवेदनका आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुहुन अनुरोध छ,’ प्रवक्ता सुमनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जसपा नेपालमा ३ सय ७६ सदस्यीय केन्द्रीय समिति छ । जसमा राईको पक्षमा ३१ जना मात्रै खुलेका छन् । त्यसमा पनि अधिकांशले हस्ताक्षर नगरेको प्रवक्ता सुमनले दाबी गरेका छन् । जसपा कार्यकारिणी समिति १८ सदस्यीय छ । राईको पक्षमा ८ जना मात्रै उभिएका छन् । यही हिसाबलाई आधार मानेर जसपाले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेको हो ।

The post निर्वाचन आयोगबाट अशोक राई नेतृत्वको जसपाले पायो मान्यता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95591/