नेपालको कारागारमा १ हजार ४ सय विदेशी कैदीबन्दी
काठमाडौं । नेपालमा विभिन्न समयमा अपराधमा संलग्न विदेशी कैदीबन्दी १ हजार ४ सय जना रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार धेरैजसो भारतीयहरू चोरी, लागूऔषध ओसार–पसारलगायतका मुद्दामा संलग्न भएकाहरू कैद भुक्तानका लागि देशको विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
हाल नेपालका कारागारहरूमा भारत, भुटान, चीन, अमेरिका, क्यानडा, जर्मनी, म्यानमार, पाकिस्तान, बोलिभिया, जाम्बिया, सर्विया र बंगलादेशका नागरिकहरू छन् । नेपालका कारगारमा कुल २८ हजार बढी कैदीबन्दी छन् । तीमध्ये १ हजार ४ सयको हाराहारीमा विदेशी कैदीबन्दी रहेका छन् । कारागारमा रहेका कैदीबन्दीमध्ये ४ प्रतिशत विदेशीको संख्या रहेको छ ।
अपराधमा संलग्न भई दोषी ठहर हजार बढी विदेशी नागरिक फरार
त्यस्तै, नेपालमा अपराध गरेर १ हजार ३ सय ५७ जना विदेशी अपराधी फरार रहेका छन् । नेपाल घुम्न आउनेदेखि विभिन्न कम्पनीमा आबद्ध रहेर अपराध गर्नेहरू सुरुमा अदालतको आदेशमा थुनामा रहने र पछि धरौटीमा छुटेपछि फरार हुने गरेका पाइएको छ । नेपालमा अपराध गरेर त्यसरी फरार हुने धेरै विदेशी नागरिकलाई नेपालले पक्रन सकेको छैन । पक्राउ परिहाले भने पनि तारेखमा छुट्ने र तारेखमा छुटेलगतै भाग्ने गरेका कारण मुद्दाको फैसला हँुदासम्म त्यस्ता अपराधी पक्राउ गर्न सकिएको छैन ।
यसरी फरार हुने सूचीमा भारत, चीनसहित ४१ मुलुकका नागरिक रहेको सर्वोच्च अदालतको फैसला निर्देशनालयको अभिलेखमा उल्लेख छ । वन्यजन्तुका अन्तर्राष्ट्रिय गिरोहमा संलग्न इयान बेकर विगत ८ वर्षदेखि फरार सूचीमा छन् । राजधानीमै वन्यजन्तुको आखेटोपहारको भण्डारण गरी तस्करी गर्दै आएका उनीविरुद्ध प्रहरीले पक्राउ गर्नका लागि फरार अपराधीको सूचीमा राख्दै इनटरपोल जारी ग¥यो । तर, उनी पक्राउ पर्न सकेनन् ।
‘गोल्डक्वेस्ट’ खेलाउने हङकङ नागरिक डोन्ना मारिई ग्लेन इम्सन र भारतीय नागरिक तनवीर निजामबाट ५३ करोड ६० लाख रुपैयाँ असुल गर्न र ती अभियुक्तलाई सजाय गर्नेगरी सर्वोच्चबाट २६ माघ २०६५ मा अन्तिम फैसला भएको थियो । तर, फैसलाअगावै उनीहरू नेपालबाट भागे । सम्पत्ति शुद्धीकरण अभियोगमा चिनियाँ नागरिक उली साङबाट ६ करोड ७४ लाख ५० हजार रुपैयाँ उठाउनुपर्नेछ तर उनी मुद्दा लाग्नुअगावै फरार भए ।
कर्तव्य ज्यान, लागूऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्ति चोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायत मुद्दाका अदालतमा चाङ छन् । फैसला निर्देशनालयका अनुसार पारस्परिक कानुनीसम्बन्धी ऐन भए पनि दुई देशबीच सुपुर्दगी सम्झौता नहुँदा ठूलो अपराधमा मुछिएकालाई पक्राउ गरेर नेपाल ल्याउन समस्या देखिन्छ ।
बेलायतस्थित एस्योर्ड रिक्स कम्पनीका ठेकेदार माइकल राइडरबाट ४२ करोड ६० लाख २४ हजार असुल गर्नुपर्नेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको सो मुद्दामा १ फागुन २०६८ मा विशेष अदालतबाट प्रमुख ठेकेदार रहेका राइडरलाई २ वर्ष कैद, २८ करोड ४० लाख जरिमाना र राइडरको एस्योर्ड रिस्क कम्पनीबाट १४ करोड २० लाख ८ हजार रुपैयाँ बिगो असुल गर्नुपर्ने फैसला गरेको थियो ।
भ्रष्टाचारको अभियोगमा जेल सजाय भएका भारतीय नागरिक राजेशकुमार र सुनीत माथुरबाट ९ करोड ३२ लाख रुपैयाँ बिगो र २ वर्ष कैद असुल्न बाँकी छ । ओमविक्रम राणा र नेपालस्थित ठेकेदार प्रतिनिधि शम्भु भारतीसँग मिलेर राइडरले सामान डेलिभरी एवं रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको ठहर विशेष अदालतको छ । राइडरले विशेष अदालतबाट हाजिर हुन जारी गरेको म्याद पनि गुजारेको र सर्वोच्चमा पनि पुनरावेदन नगरेका कारण कानुनतः उनका लागि यही फैसला नै अन्तिम भएको छ ।
The post नेपालको कारागारमा १ हजार ४ सय विदेशी कैदीबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103868/