नेपाली फिल्मलाई बजेटमा सम्बोधन, तर भएन कार्यान्वयन

काठमाडौं ।

संसारमा कुनै पनि देशलाई चिनाउने माध्यम भनेको त्यो देशको फिल्म हो। कुनै पनि देशकोे फिल्मले त्यहाँको जनजीव, कला संस्कृति, रहनसहन र जिजिविषालाई प्रस्तुत गर्ने भएकाले कुनै विशेष खेलको तुलनामा फिल्मलाई ससक्त माध्यम मानिन्छ।

भारतलाई चिनाउन बलिउडका फिल्मले पुर्‍याएको योगदान त्यहाँको क्रिकेट खेलभन्दा कयौं ज्यादा महत्वपूर्ण मानिन्छ। त्यसैले आफ्नो देशको फिल्मको उन्नतिका लागि सम्बन्धित देशले करोडौं, अर्बाैं लगानी गर्ने गर्छन्। हलिउडले पनि आफ्नो फिल्मलाई त्यसैगरी माथि उकास्ने गर्दछ।

नेपालमा भने फिल्मलाई अहिले पनि विशेष सम्बोधन गर्ने गरेको पाइ”दैन। सरकारले हरेक नयाँ आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रका लागि करोडौं अर्बाैं छुट्याए पनि फिल्म क्षेत्रलाई भने सामान्य सम्बोधन गरेर झारो टार्ने गर्दै आएको छ। वर्ष २०८० मा पनि त्यस्तै भयो, बजेटमा फिल्मका लागि सामान्य सम्बोधन भयो। तर, नयाँ बजेट आउने बेलासम्म पनि खासै कार्यान्वयन भएन।

गतजेठको पहिलो हप्ता सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा फिल्म क्षेत्रलाई पनि सम्बोधन गरेर फिल्मवृत्तमा आशा जगाए पनि सोअनुरुपको कार्य भने हुन सकेन। प्रतिलिपि अधिकार ऐन स्रष्टामैत्री बनाइने, ऐतिहासिक फिल्म, वृत्तचित्र र स्वदेशी फिल्मलाई प्राथमिकता फिल्म छायांकनमा प्रवर्द्धन, बनेपाको इनडोर स्टुडियो निर्माणमा तीव्रता दिनेजस्ता विषय समेटेर नीति तथा कार्यक्रममा कला र फिल्म क्षेत्रलाई थारै भए पनि समेट्ने प्रयास गरे पनि एक वर्षको अवधिमा घोषणाअनुरुप काम हुन सकेन।

त्यस्तै, प्रतिलिपि अधिकार ऐन २०५९ लाई स्रष्टामैत्री हुने गरी परिमार्जन गर्ने, समाज रुपान्तरणका लागि संघर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक फिल्म, वृत्तचित्र तथा स्वदेशी फिल्म निर्माणलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो तर त्यसका लागि कुनै पनि पहल भएको देखिएन। अन्तर्राष्ट्रिय फिल्म छायांकनका लागि नेपालका प्रमुख आकर्षक स्थललाई प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा दोहोर्‍याइए पनि केही वर्षदेखि अन्तर्राष्ट्रिय फिल्म छायांकनका लागि नेपालका प्रमुख आकर्षकस्थललाई प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिँदै आए पनि यसमा ठोस कदम चालेको भने पाइएको छैन।

नीति तथा कार्यक्रमा अन्तर्राष्ट्रियस्तरमा नेपालको भूगोल, कला, साहित्य, भाषा, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्न योगदान पुर्याउने विदेशी नागरिकलाई सगरमाथा विशेष सम्मान प्रदान गर्ने निर्णय पनि समेटिएको थियो। अन्तर्राष्ट्रिय फिल्म छायांकनका लागि नेपालका प्रमुख आकर्षक ठाउँलाई प्रवद्र्धन गरिने, अन्तर्राष्ट्रियस्तरमा फिल्मका लोकप्रिय व्यक्तिलाई आमन्त्रण गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गरिन उद्घोष सम्बोधनमै सिमित हुन पुग्यो।

समग्र मुलुकका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँबराबरको बजेट घोषणा गरेको सरकारले नेपाली फिल्म र कला सामान्यरूपमा सम्बोधन गरेको थियो। आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली फिल्म तथा कला क्षेत्रका लागि अघिल्ला अर्थमन्त्रीले जस्तै विगतमा घोषित सामान्य विषयलाई दोहोर्‍याएका थिए। बजेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमार्फत सिनेमा क्षेत्रलाई पर्यटन क्षेत्रसंगै जोड्दै सिनेमा पर्यटनको प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने घोषणा गरिएको थियो । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतर्फ ११ अर्ब ९६ करोड विनियोजन गरिए पनि सिनेमा पर्यटनको प्रवर्द्धन र विकासका लागि कति बजेट तर्जुमा गरियो या गरिएन कसैलाई थाहा भएन।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिअन्र्तगत नेपाललाई सिनेमा पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गरिने नीति बजेटले लिएको थियो। यसअनुसार सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइयो। यसका लागि सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलाई आठ अर्ब ७१ करोड विनियोजन गरिएको थियो। सञ्चार तथा सूचना प्रविधिअन्तर्गत नै सामाजिकसञ्जालमा आधारित सञ्चारमाध्यमलाई औपचारिक दायरामा आउन प्रोत्साहित गर्नुका सथै नियमनका लागि कानुनी व्यवस्थामा सुधार गरिने बजेटमा जनाइएको थियो।

सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले सिनेमाघरलाई केही सहुलियत प्रदान गरेको थियो भने यसका साथै कडाइको नीति पनि अंगिकार गरेको थियो।

विधेयकले विदेशी फिल्मको सबै श्रेणीको प्रवेश शुल्कमा १५ प्रतिशत विकास शुल्क असुलिने, सिनेमा घरले क्याबिन सञ्चालन गर्नसक्ने र क्याबिनका सबै श्रेणीको टिकट बिक्रीबाट असुल गरिने चलचित्र विकास शुल्कको दर टिकट दरको २० प्रतिशत हुने, सिनेमा घरले दैनिक टिकट बिक्रीको अभिलेख राख्नुपर्ने र साप्ताहिकरूपमा काठमाडौंको हकमा चलचित्र विकासबोर्ड तथा अन्य स्थानको हकमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय र राजस्व कार्यलय नभएको जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने, विद्युतीय प्रणालीबाट टिकट जारी गरी केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीको सर्भरसँग लिंक गर्नुपर्ने व्यवस्था गरेको थियो।

तोकिएको समयमा विद्युतीय प्रणाली जडान तथा केन्द्रीय सर्भरसँग लिंक नगरी टिकट जारी गरेको पाइएमा टिकटबाट प्राप्त रकमको पहिलोपटकका लागि शतप्रतिशत र एक पटकभन्दा बढीका लागि दुई सय प्रतिशत जरिवाना गरिने व्यवस्था गरिएको थियो। सिनेमाघरले प्रत्येक महिनाको शुल्क अर्को महिनाको २५ गतेसम्म दाखिला गर्नुपर्ने, तोकेको समयमा दाखिल नगर्नेलाई २५ प्रतिशत जरिवाना गरिने व्यवस्था विधेयकमा छ। चलचित्र विकास बोर्डमा बुझाउनुपर्ने रकम बक्सअफिस प्रणालीबाट समेत पठाउनुपर्ने व्यवस्था गरिएको छ।

सिनेमाघरले फिल्म प्रदर्शन गरी नगरेको वा विदेशी फिल्म प्रदर्शन गरी स्वदेशी फिल्म प्रदर्शन गरेको भन्दै झुटा विवरण पेस गरे पहिलोपटक शतप्रतिशत र दोस्रोपटक वा सोभन्दा बढी जतिपटक भए पनि दुई सय प्रतिशत जरिवाना तिराइने विधेयकमा उल्लेख छ। त्यस्तै, तोकिएको समय व्यतित दुई महिनासम्म जरिवानासहित शुल्क नबुझाउने सिनेमाघर बन्द गरी शुल्क र जरिवाना तिराइने व्यवस्था गरिएको थियो। समयमा विवरण पेस नगरे प्रतिमहिना एक हजार जरिवानासमेत तिराइने भएको छ।

कारणवश सात दिन वा त्योभन्दा बढी हल बन्द भएको प्रमाणित गरे सिनेमा घरले त्यो अवधिको चलचित्र विकास शुल्क भने तिर्नुपर्ने छैन। विद्यार्थीको सहुलियतका लागि शनिबार र सार्वजनिक बिदाको दिन बिहान आठ बजेको फिल्म प्रदर्शनमा चलचित्र विकास शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था पनि विधेयकले गरेको थियो।

६ दशक लामो इतिहास बोकेको फिल्म क्षेत्रलाई सरकारले दुई वर्षअघि नै उद्योगको मान्यता दिए पनि उद्योगको रुपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत भने यो क्षेत्रले पाउन सकेन। सरकारले फिल्म उद्योगलाई बजेटमा उपेक्षा गरेको भन्दै फिल्म सम्बद्ध संघसंस्थाले भने चर्को विरोध गरेका थिए।

चलचित्र पत्रकार संघ नेपालद्वारा राजधानीमा आयोजित बजेटमा चलचित्र उद्योग शीर्षकको अन्तरक्रिया कार्यक्रममा नेपाली फिल्म सम्बद्ध संघसंस्थाका पदाधिकारीले सरकार फिल्म उद्योगप्रतिको दायित्वबाट पन्छिएको आरोप लगाएका थिए।

कलाकार बाँधिए बिहे बन्धनमा, रेखालाई सन्तानलाभ

वर्ष २०८० मा केही कलाकार विवाह बन्धनमा बाँधिए भने कलाकारलाई सन्तानलाभ पनि भएको छ। कलाकार रियाशा दाहालले फेसबुक पेज रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलका साथ वैशाख २० गते बिबाह गरिन्।

अभिनेत्री तथा मोडल सुमी मोक्तानले वैशाख २२ गते प्रेमी विवेक रावलसँग बिहेबारी गरिन्। नायिका श्रद्धा प्रसाईंले पनि प्रेमी बिक्की अग्रवालका साथ वैशाख २७ गते बिबाह गरिन्। मंसिरमा अभिनेत्री दीपशिखा खड्का प्रेमी अमनजंग बस्नयातसँग परम्परागत रूपमा विवाह बन्धनामा बाँधिइन्।

असारमा काठमाडौं जिल्ला अदालतमा कोट म्यारिज गरेका उनीहरूले मंसिरमा परम्परागत रूपमा विवाह गरेका हुन्। खड्काले प्रेमलीलानामक फिल्म निर्माण गरेकी थिइन् भने केही फिल्ममा अभिनय गरेकी छन्।

म्युजिक भिडियो तथा फिल्म निर्देशक निकेश खड्काले पनि मंसिर महिनामै लगनगाँठो कसे। उनले मंसिर १२ गते प्रेमिका अन्विका खड्गीका साथ राजधानीको बत्तिसपुतलीस्थित राम मन्दिरमा परंपरगातरुपमा विवाह गरेका हुन्।

अभिनेत्री निरुता सिंहले अगस्टमा मुम्बई निवासी सञ्जीव गुलाटीसँग लगन गाँठो जोडिन्। मंसिर २८ गते पूर्वमिस नेपाल शृंखला खतिवडाले सञ्चार उद्यमी सम्भव सिरोहियाका साथ लगनगाँठो कसिन्। अभिनेता गौरव पहाडीले गत माघ २१ गते प्रेमिका श्रेणी खतिवडासँग विवाह गरे।

लामो समयदेखि अमेरिकामा रहँदै आएकी अभिनेत्री नन्दिता केसीले नेपाल आएर फागुन १९ गते विवाह गरिन्। लाजिम्पाटस्थित होटल शंकरमा आयोजित एक वैैवाहिक समारोहबीच प्रेमी डा. अरविन्द कटुवालसँग विवाह गरेकी हुन्।

६ महिनाअघिको भेटपश्चात्को प्रेमलाई नन्दिता र अरविन्द्रले विवाहमा परिणत गरेका हुन्। अमेरिकामै बस्दै आएका अरविन्द्र मुटुरोग विशेषज्ञ हुन्। उनीहरूले यसअघि क्यानडामा इन्गेजमेन्ट गरेका थिए।

फागुन दोस्रो साता अभिनेत्री, निर्मात्री तथा निर्देशक रेखा थापालाई पुत्रीलाभ भएको छ। उनी गर्भवती भएपछि सन्तानलाई जन्म दिन पति बलराम शाही ठकुरीका साथ केही महिनाअघि अमेरिका गएकी थिइन्। रेखाले पुत्रीको नाम वैभवी रज्यलक्ष्मी शाही ठकुरी नामाकंरण गरेकी थिइन्।

Source : https://newsofnepal.com/2024/04/16/638388/