पर्यटकको आर्षकण बन्दै भोजपुरको मुन्दुम पदमार्ग

भोजपुर । नेपाल सरकारको सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षकण केन्द्रको रुपमा स्थापित हुन थालेको छ । पूर्वी क्षेत्रको एक मात्र सहज र सरल पदमार्गको रुपमा लिइने यो क्षेत्रमा पर्यटकको अवगमन बढेको हो ।

छोटो समयमा यो पदमार्गमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेपछि टेम्केमैयुङ गाउँपालिकाले यसको थप विकास तथा विस्तारमा जोड दिएको छ । यहाँ आउने पयर्टकलाई सहजता थप्नको लागि गर्नु पर्ने काम तथा यो पदमार्गको पछिल्लो अवस्थाको विषयमा जानकारी लिने उद्धेश्यले सरोकारवाला पक्षले स्थलगत रुपमा अनुगमन गरेका छन् ।

यो समयमा पयर्टकको चाप बढ्न थालेपछि उनीहरुलाई यात्राको क्रममा कुनै समस्या नहोस् भन्नको लागि यो पदमार्गको दुई हजार ३५१ मिटर उचाई रहेको चखेवाभञ्याङदेखी भोजपुरको सवैभन्दा अग्लो चार हजार १५३ मिटर उचाईमा रहेको सिलिचुङ चुचुरोसम्मको स्थलगत अनुगमन गरिएको हो ।

मुन्दुम पदमार्गको थप विकास तथा यहाँ घुम्न आउने पर्यटकलाई सहजताको लागि गर्नु पर्ने कामको अध्ययन, अनुसन्धानको लागि कार्यक्रम तयार गरेर स्थलगत रुपमा अनुगमन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए।

‘मुन्दुम ट्रेल पर्यटकको रोजाइँको गन्तव्यको रुपमा स्थापित भईरहेको छ’ अध्यक्ष बस्नेतले भने,‘गाउँपालिकाले यहाँको थप विकास तथा विस्तारमा जोड दिइरहेको छ ।यहाँ आउने पर्यटकलाई थप सहजता थप्नको लागि गर्नु पर्ने कामको विषयमा जानकारी लिन सरोकारवाला पक्ष सहित चखेवाबाट सिलिचुङ चुचुरोसम्म स्थलगत अनुगमन गरेका छौँ । अव यात्राको क्रममा देखिएको समस्याहरुका समाधानमा जोड दिन्छौँ ।’

टेम्केमैयुङ गाउँपालिका प्राकृतिक रुपमा सुन्दर रहेकोले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भईरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।मुन्दुम पदमार्गको यात्राको क्रममा पदयात्रीहरुलाई पर्न सक्ने समस्याको खोजी तथा यो पदमार्गलाई थप व्यवस्थित बनाउन स्थलगत रुपमा अनुगमन गरिएको उपाध्यक्ष राईले जानकारी दिइन् । स्थलगत अनुगमनका क्रममा देखिएका समस्याहरुको समाधानमा गाउँपालिकाले क्रमिक रुपमा काम गर्ने उनको भनाइ छ ।

मुन्दुम पदमार्गमा आउने पर्यटकहरुलाई लक्षित गरेर चखेवामा पर्यटन सूचना केन्द्रसमेत निर्माण गरिएको उपाध्यक्ष राईको भनाइ छ । यो सूचना केन्द्रबाट पर्यटकहरुलाई पदमार्गको विषेशता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नु पर्ने स्थानहरु, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकहरुको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताइन् ।

‘यो पदमार्ग घुम्न आउने पर्यटकहरुलाई सहज आवगनको लागि काम गरिरहेका छौँ’उपाध्यक्ष राईले भने,‘गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको अवस्था छ । यो पदमार्गलाई थप व्यवस्थित बनाउन गर्न सकिने कामको पहिचान गर्न स्थलगत रुपमा अनुगमन गरेका छौँ ।’

अग्ला हिमश्रृङखला, पहाडका अग्ला डाँडाहरु,तराइका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए । यहाँको प्राकृतिक सौन्दर्यताको उजागरसँगै प्रचारप्रसारको क्षेत्रमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको उनको भनाइ छ ।

पदमार्गको आसपासमा निर्माण भएका किराँतहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाहरुले पालेका चौरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने प्रशासकीय अधिकृत पौडेलले बताए ।

‘यो मार्ग छोटो समयमा पर्यटकको रोजाइँको गन्तव्य बन्न सफल भएको छ’ प्रशासकीय अधिकृत पौडेलले भने,‘यहाँ पर्यटकलाई आकर्षित गर्ने धेरै क्षेत्रहरु छन् । गाउँपालिकाले यसको थप विकाससँगै प्रचारप्रसारमा जोड दिएको अवस्था छ ।’

उकालोओरालो हुँदै फैलिएको यो पदमार्गको यात्राको क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला एक साथ हेर्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले जानकारी दिए ।

यो पदमार्गमा बढी मात्रामा भदौ, असोज, कार्तिक र मङ्सिर महिनामा पर्यटक आउने स्थानीयबासीको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न, हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकोले यो क्षेत्र पर्यटकको रोजाइँमा पर्ने गरेको टेम्कमैयुङ ३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । वर्षेनी यो पदमार्गको भ्रमण गर्नेहरुको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

किराँत राईहरुको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किराँत राईहरुको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ ।

The post पर्यटकको आर्षकण बन्दै भोजपुरको मुन्दुम पदमार्ग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103428/