पुजार सार्कीको ट्रेलरमा जातीय विभेदविरुद्ध आवाज

काठमाडौं । जातीय विभेदविरुद्ध निर्माण भएको चलचित्र ‘पुजार सार्की’ १० जेठबाट रिलिज हुँदै छ । यो चलचित्रको मंगलबार काठमाडौंमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरियो ।

चलचित्रको ट्रेलर ४ मिनेटको छ । ट्रेलरमा चार दशक पुरानो कथा उठान गरिएको छ । जहाँ पञ्चायतकालीन समयको कथालाई प्रस्तुत गर्न खोजिएको छ । जसमा अभिनेता प्रदीप खड्का दलित युवा मइतेको भूमिकामा छन् भने शीर्ष भूमिका पुजारीमा अभिनेता आर्यन सिग्देल छन् । अर्का अभिनेता पल शाह गाउँको ठकुरीको भूमिकामा छन् ।

चलचित्रको ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई उतारिएको छ । सहरबाट गाउँ आएका आर्यन सिग्देलले पुजारीका रूपमा जातीय विभेद उन्मूलनको प्रयास गरेको ट्रेलरमा उल्लेख छ । दलित बनेका प्रदीप शास्त्र पढेपछि बाहुन बनिन्छ भन्ने मानसिकतामा रहेको ट्रेलरमा उल्लेख छ । पल शाह परिवर्तनकारी युवाको भूमिकामा छन् ।

आर्यन, पल र प्रदीप पहिलोपटक एउटै चलचित्रमा प्रस्तुत भएका हुन् । यी तीनसहित यो चलचित्रमा अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शंकर आचार्यलगायतका कलाकार यो चलचित्रमा छन् ।

यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । यो चलचित्रका निर्माता सुवास भुसाल हुन् । चलचित्रका सबै संगीत पनि सुवासले नै सिर्जना गरेका छन् । हर्क साउद, ‘बी’ पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्तिश्री परियार, केतन क्षेत्री, देवेन्द्र बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको डीओपी रहेको पुजार सार्कीलाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन् ।

किंगडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दै छ । डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ ।

The post पुजार सार्कीको ट्रेलरमा जातीय विभेदविरुद्ध आवाज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95646/