प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति सधैं गोप्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका छन् ।

रास्वपाका ४ मन्त्रीले आफूहरूको सम्पत्ति सार्वजनिक गर्न भनेपछि प्रधानमन्त्री दबाबमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले छुट्टाछुट्टै पत्र लेखी आआफ्नो सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आमसञ्चारमाध्यमको जानकारीका लागि सार्वजनिक गरिदिन अनुरोध गरेका हुन् ।

रास्वपाका मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गरिदिन अनुरोध गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका अन्य मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्न दबाब परेको छ । एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबाट मन्त्री भएकाहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न नमानेपछि रास्वपाका मन्त्रीहरूले आफूहरूको सम्पत्ति भने सार्वजनिक गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पदबहाली गरेको डेढ वर्ष बित्दा पनि उनले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई महिनाअघि मात्रै सरकारमा सहभागी भएपछि रास्वपाका मन्त्रीहरूले आफूहरूको सम्पत्ति सार्वजनिक गर्न दबाब दिए । सरकारमा सहभागी भएका अन्य दलका मन्त्रीले आफ्नो सम्पत्ति सार्वजनिक गर्न इन्कार गरेपछि केही दिनअघि मात्रै रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई अरूको सम्पत्ति सार्वजनिक नगरे पनि आफूहरूको सम्पत्ति सार्वजनिक गर्न आग्रह गरेका छन् । प्रधामन्त्री भएको डेढ वर्ष बित्दा पनि प्रधानमन्त्रीले गोप्य राखेको सम्पत्ति विवरण रास्वपाको दबाबका कारण सार्वजनिक गर्नुपर्ने बाध्यता आउने देखिएको छ ।

प्रधानमन्त्रीसहित २५ जनाको मन्त्रिपरिषद्मा २२ जनाको सम्पत्ति विवरण प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा उल्लेख छ । तीन जना उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ र राज्यमन्त्री दीपक कार्कीको सम्पत्ति विवरण भने प्राप्त नभएको उल्लेख छ । सार्वजनिक पदधारण गरेको व्यक्तिले त्यसरी प्राप्त सम्पत्ति विवरण हेर्न पाउनेगरी सार्वजनिक गर्नुपर्नेमा गोप्य राखिएको छ ।

सम्पत्ति सार्वजनिक गर्नुपर्ने बाध्यता नभए पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने काम तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषय कानुनमा उल्लेख नभए पनि २०४८ सालमा जननिर्वाचित गिरिजाप्रसाद कोइराला सरकारको पहिलो निर्णय थियो । त्यतिबेला तत्कालीन प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारको पहिलो निर्णय थियो, ‘प्रधानमन्त्री–मन्त्री बनेको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गरिनेछ ।’ प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि नागरिकमा पादर्शिताको कुरा गर्न सहज हुने भन्दै त्यतिबेलाको सरकारले सो निर्णय गरेको थियो ।

यदि, सम्पत्ति विवरण सार्वजनिक गरिदिने हो भने यसअघि प्रधानमन्त्री हुँदा भएको सम्पत्ति र अहिलेको सम्पत्ति कति बढ्यो वा घट्यो भन्ने आमनागरिकले जाँच्न पाउँथे । तर, प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति गोप्य राख्दा नागरिकमा आशंका बढेको छ । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा ५ भदौ २०७३ मा भने सम्पत्ति सार्वजनिक भएको थियो ।

उतिखेरको सम्पत्ति विवरण केवल १ कट्ठा जमिन थियो । प्रचण्डले सम्पत्ति विवरणमा देखाएको सो सम्पत्ति पैत्रिक भएको उल्लेख गरेका थिए । तर, सो सम्पत्ति श्रीमती सीता दाहालको नाममा राखेका थिए । साथै, उनले त्यतिखेर ३ तोला सुन रहेको र आफ्नो कतै सेयर एवं जग्गा जमिन नभएको उल्लेख गरेका थिए ।

सम्पत्ति विवरण सार्वजनिक गर्नका लागि मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने भएकाले माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाका मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्न नमानेपछि सार्वजनिक हुन नसकेको एक सचिवले जानकारी दिए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण सरकारलाई बुझाउनुपर्ने,’ उल्लेख छ । कानुनी रूपमा सम्पत्ति विवरणमा व्यक्तिगत गोपनीयतासम्बन्धी कानुन लागू हुन्छ । तर, मन्त्रिपरिषद्ले कार्यव्यवस्था नियमावलीमा व्यवस्था गरेरै संघीय सरकारका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था सुरु गरिएको थियो ।

The post प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति सधैं गोप्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95592/