प्रधानमन्त्रीसहित शीर्ष नेतासँग सभामुखको छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ । संसद्‍मा देखिएको गतिरोध अन्त्यलगायतका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरूसँग छलफल शुरु गरेका हुन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् । त्यस्तै बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रधानसमेत सहभागी छन् ।

शीर्ष नेताहरूसँगको छलफल सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भइरहेको छ । वैशाख २८ गते बोलाइएको वर्षे अधिवेशनको सञ्चालनका बारेमा छलफल भइरहेको हो । यसअघिको अधिवेशनमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा नाम जोडिएको भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न माग गर्दै संसद् अवरुद्ध गरेको थियो ।

The post प्रधानमन्त्रीसहित शीर्ष नेतासँग सभामुखको छलफल first appeared on Outline News Service.

Source : https://www.onsnews.com/chalphal-3/?utm_source=rss&utm_medium=rss&utm_campaign=chalphal-3